कोरोना महामारी र हाम्रो नियति


– हरिप्रसाद घिमिरे
यतिबेला कोरोना महामारीका कारण सिंगो मानवजाति आक्रान्त बनेको छ । यसले विश्वभरि नै एउटा भयावह महामारीको रुपमा आफ्नो आकार लिइरहेको छ । फलतः देश–दुनियाँ जीवन र मृत्युको दोसाँधमा भयभित बनेको छ । विज्ञान र प्रविधिको विकास र यसमा विकसित पहुँचले मात्र कोरोनालाई नियन्त्रणमा सकेको छैन । बरु, स्वयं सतर्क रहने, सचेत हुने र सावधानी अपनाउनेसिवाय मानिसको हातमा केही छैन । मानव निर्मित अर्को कुनै औजार वा विकसित अस्त्रले कोरोनालाई नियन्त्रणमा लिन सकेको छैन । यसर्थ, यसलाई कुनै सरकारको सफलता वा अफसलतासँग र प्रतिपक्षको भूमिका आदिको विषय बनाइनु युक्तिसंगत हुन सक्दैन र किमार्थ हुँदैन ।

हामी देशमा हौं अथवा प्रवासमा ! नेपाली हौं । नेपाली विशेषको कुरा गर्नुपर्छ । तर, कोरोना महामारीको रोग र रोगको संक्रमणले देश, जात, धर्म, संस्कृति आदि केही भनेको छैन । यसको अर्थ कोरोना विशेष कुनै राष्ट्र र यहाँका नागरिकलाई तुलना गर्नु बुद्धिमता हुँदैन । दुनियाँमा लाखौंलाख मानिसहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् भने लाखौंको संख्यामा मृत्यु भएको समाचार आइरहेको छ । एकखाले तमाम विकसित देशहरूको दाँजोमा अर्काखाले विकसित देशहरू महामारीको शिकार भएको, अत्यन्तै तीब्रत्तर ढंगले संक्रमण बढेको छ । प्रकारान्तमा यसले मानव जीवनको व्यवस्थापनको क्षेत्रमा, चलायमान अर्थतन्त्र निर्माणको क्षेत्रमा, रोजगारीे सिर्जना गर्ने क्षेत्रमा, कृषि तथा आद्यन्य उत्पादन गर्ने क्षेत्रमा संसारभरि नै अत्यन्तै डरलाग्दो र भयावहको स्थिति सिर्जना गर्ने देखिन्छ । विकसित र आत्मनिर्भर मानिएका यी छिमेकी देशहरूमा बढ्दो संक्रमणले हाम्रो देश नेपाल पनि यसबाट अछुतो रहन सक्दैन । यद्यपि, अहिलेसम्म देशभित्र कोरोनाका कारण कुनै शोक परेको छैन ।

बिरामी भएकाहरू क्वारेन्टाइन बसेर घर फर्किएका छन् । यो सुखद् पक्ष हो । यति हुँदाहुँदै पनि उपयुक्त विकल्प विकास गर्न सकिएन र अर्थतन्त्र बचेन भने स्थिति धरासाही बन्ने छ । आज संक्रमित भएको संख्यालाई नियन्त्रणमा लिन र संक्रमण व्यवस्थापन गर्न लक डाउन कार्यान्वयन अनिवार्य छ । लामो समयसम्म भएको यो लक डाउनको कारण अर्थ व्यवस्थामा प्रतिकूल प्रभाव त देखिन थालेको छ नै, तथापि योभन्दा मानवीय क्षति हुन नदिनु र जनजीवन सुखद् र स्वास्थ्यकर राख्नु आजको पहिलो कर्तव्य हो । यसलाई राज्यको मात्र विषयको रूपमा बुझियो भने यो निराधार र निराकार ज्ञान र व्यवहारिक चेतनाबाहिरको तर्क हो भनेर सहजै ठम्याउन सकिन्छ ।

व्यक्तिगत स्वास्थ्यकर र स्वास्थ्यकर चेतना विकासको ठीक यही बेला नेपालमा कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो सत्तारुढ दल नेकपाभित्र दलका केही शीर्षस्थ नेताहरू पदाशक्त प्रकट गर्दै आएका छन् । आफ्नै पार्टी नेतृत्वको सरकार सञ्चालनका क्रममा रहन गएका केही प्राविधिक विषयवस्तुलाई भयावह ठूलो गल्ती गरेझैँ एकापसमा व्यापक असमझदारी बढाउँदै लगेका छन् । पार्टीभित्र किचलो र रडाको मच्चिदै गएको छ । यसले दशकौंयता सजिएको नेपाली जनताको सपना साकारको अवस्था, समाजवाद उन्मुख सिंगो नेपाल निर्माणको प्रश्न र नेपालीहरूको सुन्दर जीवन र भविष्य निर्माणको अभियानमाथि आघात पुग्ने विषयलाई नेतृत्वले हलुका ढंगले लिइरहेको छ । दलभित्र मात्र होइन, संसदीय मर्यादाभित्र पनि अत्यन्तै जिम्मेवारबोध नभएजस्तो गैरजिम्मेवारीपन र विवेकहीनताको पराकाष्ठा देखिएको छ ।

राजनीतिको कखरा जानकार सबैले बुझेका छन्– नेतृत्वको यो दम्भ, केवल व्यक्ति अधीनस्थ, स्वयंमा अन्तरनीहित पद–प्रतिष्ठा आर्जन, सेवासुविधा प्राप्ति र लाभकेन्द्रीत निकृष्ट खेलका कारण हुन गएको छ । पद प्रतिष्ठा प्राप्तिको भोक राजनीतिक महत्वाकांक्षको रूपमा खतरनाक भाइरस बनेर विकास भएको छ । यसलाई बेलाछँदै नियण्त्रण गर्ने काममा हामी राजनीतिकर्मी सफल हुन्छौं कि हुँदैनौं ? प्रश्न बनेर उभिएको छ । पार्टीभित्रको भूमिकाको प्रभावकारिता नहुँदा सरकारको ध्यान पनि भट्किएकोजस्तो देखिन्छ । सरकारमा नेकपाको उपस्थिति दुई तिहाइको छ तर सरकारमा नेकपा एक तिहाइ भएजस्तो छ । फलतस्वरुप देश तथा संसारभरि छरिएर जीविकोपार्जन रहेका लाखौंलाख नेपालीहरूको लागि यो विषय अत्यन्तै चिन्ता र चासोको विषय बनेको छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं महामारीको कारण देश अक्रान्त भएको बेलामा नेताहरूको यस्तो गैरजिम्मेवारी रवैयाका साथ प्रतिपक्षीय तालमा सडकमा उत्रिएका छन् । परस्पर संवाद, छलफल, बहस र विमर्श हुन सकेन भने यो क्षेप्यास्त्रको अवस्थाले देशभित्र झनै ठूलो दुर्घटना घट्न सक्ने स्थितिलाई कसैले रोक्न सक्दैन ।

नेपालमा राजनीतिक स्थायित्व रहे आफ्नो रुचिअनुसारको व्यवसाय सकिने त्रासले तिलमिलाएका कम्युनिष्ट विरोधीशक्तिहरू नेपालमा कम्युनिष्ट शक्ति हुन भएको देखीनसक्ने, बहुमतको आडमा सरकारमा रहेको पक्षलाई नसहने, सुधारात्मक र प्रगतिशील सुधारका काममार्फत समाजवाद प्राप्तिमा दिशामा अघि बढेको शक्तिलाई अलमल्याउने प्रयत्नशील रहने शक्तिहरूलाई हाम्रो नेतृत्वको भूमिकाले सघाएको छ । कसिंगार लगाउनुपर्ने हावाले उडायो भनेझैँ भएको छ, उनीहरूलाई सजिलो भएको छ । नेतृत्व सजग हुनुपर्छ । पद प्रतिष्ठा एउटा र क्षणिक कुरा हो । आजको संगठित कम्युनिष्ट आन्दोलन विभाजन हुँदा कम्युनिष्ट बाहुवलमा प्राप्त लोकतन्त्रलाई समेत खतरा पैदा हुनेछ । नेपाली जनताको सुन्दर र उज्ज्वल भाग्य र भविष्य निर्माणको पक्ष अँध्यारो सुरुङभित्र पर्नेछ ।

एकातर्फ कोभिड १९, अर्थात् कोरोना महामारीको कारण जताततै बढ्दो त्रास र असुरक्षा छ, बेरोजगारीले घर गर्नेछ, स्थिति भयावह छ । अर्थबजारको स्वतन्त्रता सकिने छ । अहिलेबाट नै विश्वभरि डगमगाउन थालेको अर्थतन्त्रले मानवीय संवेदना र मानवीय सम्पत्तिमाथि गम्भीर क्षय हुने देखिएको छ । यो प्रतिकूलता नेपालमा मात्र नभइ, संसारभरि छाएको छ । यस्तो भयावह प्रतिकुल परिस्थितिलाई चिर्न सक्ने कार्यक्रम कार्यान्वयनमा ध्यान दिन जरुरी छ । यसतर्फ वास्तै नगरी निरपेक्ष ढंगले गुटको मात्र हितमा वकालत गर्ने नेतृत्व, गुटको हितमा काम गर्ने सरकार होस् वा जो सुकै गुटका नेताहरू किन नहुन्, ती सबै राष्ट्र र जनताका दुश्मन हुन् भन्न लाजमान्नु पर्ने ठाउँ अब चाहिँ बचेको छजस्तो मलाई लाग्दैन ।

आज भारतलगायत संसारका विभिन्न देशहरूमा आफ्नो श्रम वेच्न विवस नेपालीहरूको अवस्था कठिन छ, दयनीय छ, दिनहुँ खान नपाएर मृत्यु भएको खबर लगातार आइरहेको छ ! यस्तो बेला देशको शीर्षस्थ ठाउँमा रहेका नेताहरू अनेक, अनेक ठाउँमा विधिपद्धति र प्रक्रिया विपरीत गुटका बैठकहरू बसेर निर्वाचित पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा माग्नेजस्तो लज्जास्पद अभिव्यक्ति दिँदै आइरहेका छन् । आफ्नो आन्तरिक मामिलालाई बजारमा छताछुल्ल पोख्ने र उठाउन फरक कित्ताका साथीहरूको सहयोग लिने स्थिति विकास भइरहेको देखिन्छ । भीरबाट तल झर्न लागेको गाइलाई राम, राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न भनेजस्तै अब तपाईं नेतृत्वलाई काँध हाल्न सकिँदैन । नेपाली जनताको एउटा सिंगो पुस्ताले आन्दोलनमा आफूलाई बिर्सियो । तपाईंको गौरवपूर्ण राजनीतिक वर्ष, चाहे त्यो सांसदको रूपमा होस्, वा तपाईं मन्त्री, प्रधानमन्त्रीको रूपमा होस् ! उपलब्धी केही छैन । तपाईंको शान, मान र सम्मानबाहेक आन्दोलनमा हराएको पुस्ताले केही देख्न र भेट्न सकेन !

आजका दिनहरूमा नेपालीलगायत विभिन्न देशहरूमा भोको पेट र नाङ्गो शरीर देखाएर हिड्न विवस थिए । सिधासाधा श्रम गरेर खानेमा मात्र  विश्वास राख्ने नेपाली जनतालाई विगतको दिनहरूमा विभिन्नखाले आन्दोलनहरूबाट मात्र सम्भव छ जिउनसक्ने आधार सिर्जना गर्न भन्ने थियो । समयले कोल्टो फेरेको छ । फगत आश्वशन र अविश्वसनीय भविष्यको अकल्पनीय सपना देखाएकोझैँ भएको छ । नेपाली जनताको महामारीको पीडाप्रति तपाईं नेतृत्वको मौनता छ । आमजनताको दुर्दशाप्रति तपाईंको निगाह मौन छ । तपाईं ध्याउन्न पद प्रतिष्ठा प्राप्तिप्रति लक्षित छ । नेतृत्वले केवल कुर्सीमोहमा आफ्नो सम्पूर्ण जिम्मेवारीलाई त्यागी दिएका छन्, बेवास्ता गरेका छन् !

यतिबेला प्रतिपक्षले नैतिकता र जिम्मेवारीका साथ अति आवश्यक ठाउँ र स्थानमा सरकारको विपक्षमा मुद्दा उठाएको बेला आफ्नै सरकार भएका तपाईं पार्टीका नेताहरूले निश्चित कारण बेगर केवल पद प्रतिष्ठाको लागि मुद्दा उठाउनुभएको छ । यो एक्लो मनगढन्त र नितान्त गैरजिम्मेवारीपन हो । यस्तो अवस्था तपाईं नेतृत्व तहमा देखिनु भनेको पार्टीका सयौं नेता र हजारौं कार्यकर्ताको लागि मात्र नभएर लाखौं देशका अन्य राष्ट्रिय पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरूको लागि पनि अधैर्यवान् दुर्भाग्य हो । गलत नजिरको थालनी हो ।

कतिपय बेला राम्रो काम गर्छु भन्दा भन्दै पनि गलत हुनसक्छ । त्यसलाई हार्दिकताका साथ पनि खबरदारी गर्न सकिन्छ । सुझाव दिन सकिन्छ पार्टीभित्र आन्तरिक रुपमा सामुहिक छलफल चलाएर आलोचना, आत्मालोचना गर्न सकिन्छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भरखरै सम्पन्न सचिवालय बैठकबाट आरम्भ पनि गनुभएको छ । यही नै एकमात्र वैज्ञानिक प्रक्रिया र पद्धति होइन र ? पार्टी सञ्चालन विधिका बारेमा जनतालाई सिकाएको तपाईंहरूले पनि यहीँ होइन र ? तर तपाईंहरू त एकले अर्कालाई सिध्याउने ढंगले लाग्नुभएको छ । कालीदासले रुख काटेझैँ काट्ने अभ्यास अनुसरण गर्दा आफूलाई गल्र्यामगुर्लुम झरिन्न र ? के यो अत्यन्तै राम्रो र बुद्धिमता हो ? यस्तोखाले नजिर बसाल्नु बनाउनु लोकतन्त्रको हितमा हुनसक्छ ? यो असान्दर्भिक छ ! यो त अयोग्य मानिसहरूले गर्ने अविवेकपूर्ण र तुच्छ कार्य हो । यसबाट सबै सच्चिनु जरुरी छ ।

यस्तो कार्यले तपाईंहरूले जीवनभर अनमोल ढंगले कमाएको राजनीतिक एवं सामाजिक पुँजी सदासदाको लागि समाप्त हुनेछ । जनताको नजरबाट विश्वास गुम्ने छ । राष्ट्रले तपाईंहरूलाई अस्थिरता निम्त्याउने नेताहरूको रुपमा चिन्नेछन् । मैले यस्तो किन भनिरहेको छु भने सरकारबाट गरेजतिका कामहरू सबै राम्रा भएका छन् भनेर वकालत गर्न पनि खोजिरहेको हैन, केवल सिस्टम भएन भन्ने भनाइ हो । मेरो विरोध गर्नुको पनि एउटा तरिका हुन्छ, ठाउँ हुन्छ, निश्चित मुद्दा हुन्छ । के यस्ता विषयगत मुद्दामा जनताको समर्थन हुन्छ  भन्ने ठान्नु भएको छ ? किमार्थ हुदैन । कल्पना गर्नु पनि गलत हुनेछ । एकपटक पछि फर्केर हेर्नुस् ! हाम्रो फूटको अभ्यास सफल भएको छैन । सफल मात्र होइन, रसातलमै पुगेको पनि छ ।

तपाईंहरुले विभिन्न बेलामा राजनीतिक स्वार्थको लागि सञ्चालन गरेका अनकौं ढंगका कार्यक्रमहरूमा समर्थन र सहयोगी भएको कारण लाखौं मानिसहरू अलगथलग भएका मात्रै छैनन्, सर्वस्व अर्पण गरेका छन्, ज्युज्यान नै गुमाएका छन् । यसक्रममा अरबौं राष्ट्रको सम्पत्ति बर्वाद भएको छ । लाखौं नेपाली जनता अनाथ, असहाय, अपांग, विधुवा बनेका छन्, हजारौं मानिस बेपत्ता र बेघरबार भएका छन् । यो इतिहास मेटिएको छैन । निषेध र हिंसाप्रतिहिंसाको राजनीतिक संगठन र यसले निम्त्याएको संकट हाम्रो मनपटलमा ताजै छ । अहिले यो सुदृढ र समुन्नत बनेको छ । यो तपाईंहरूले नै बनाउनुभएको छ । फेरि पनि तपाईंहरूप्रति जनताको अझै अपार माया र समर्थन कारण झण्डै दुई तिहाइको नजिक पुगेको छ । ५ वर्ष नपुगेसम्म बेगर रोकटोक सरकार चलाउ भनेर जनताले मनमतमार्फत पठाएका छन् ।

बहुमतले राजनीतिक स्थिरता र स्थायित्व दिनेछ । बहुमतको सरकारबाट देशको विकास हुनेछ । राष्ट्रिय आकांक्षाभित्र हाम्रा सपनाहरू पनि पूरा होलान्, आवश्यकताको हिसाबले सबैका गाँस, बास र कपासको ग्यारेन्टी होला भनेर नै त्यहाँ पठाएका हुन निर्दाेष जन्ताहरुलाई के थाहा थियोे र तपाईंहरु भित्र छिपेको जालझेल र अक्रमण्डता को बोरमा जिम्मेवारीमा पुगेपछि यस्तो नाङ्गो ढंगले प्रस्तुत हुनु हुनेछन् भनेर यो अवसर हातलगी भएको हो । यतिबेला तपाईं नेतृत्वमा देखिएको नाटकीय चलखेल र प्रवृत्तिलाई अध्ययन गर्दा यो कहाँबाट सञ्चालित हो भन्ने खालका शंकाउपशंकाहरू उब्जने कुरालाई स्वभाविक मान्नुपर्ने भएको छ ।

एकातिर विश्व नै माहामारीको चपेटामा परेको अत्यन्तै कठिन र जटिल अवस्थालाई नजरअन्दाज गर्दै मौका छोपेझैँ गरि देशको सम्प्रभुतामाथि कुठाराघात गर्दै भारतले आफ्नो बिस्तारबादी दाह्रानङ्ग्रा नेपालको भूमिमा गाडेको छ । अझैसम्म पनि हाम्रो कस्तो नियति ! कतिपय विषयहरू यत्तिकै ओझेलमा परेका छन् । लिम्पियाधुरा, लिपुलेकमा ८० कि.मि. सडकको उद्घाटन गरेको छ, जसको जवाफ त हाम्रो कुनै  राष्ट्रवादी नेताजीहरूमा देखिएन । अर्कोतिर चीनिया नागरिकले सिंहदरबारजस्तो शासन प्रशासनको केन्द्र रहेको अति नै संवेदनशील ठाउँमा नेपाली सुरक्षाकर्मीको छाति पक्डेर कुट्ने, पिट्ने र घाइते बनाउँछन् ! यस्तो राष्ट्रिय अस्मिता र सम्प्रभुतामा आक्रमण हूँदासम्म चुइँक्क नबोल्ने द्रौपदीको चिरहरणका लाछी भारदारजस्तालाई जनताले राम्ररी चिनिरहेका छन् ।

यो क्षणमा तपाईं नेतृत्व केही बोल्नुहुन्न । अनावश्यक ठाउँ थलामा पद र प्रतिष्ठाको चाहानामा होस गुमाएर मदहोस् बनेको चालमा पोख्नुहुन्छ । भाइ फुटे गवारा लुटे ! नेतृत्व परस्पर वैरभावमा रहँदा हामीलाई बिदेशीले ठाडै हेप्न थाले । हाम्रो छातीमा बुट बजार्न थाले । यो पनि पार्टीको विधानमा खोजिने विषय हो र ? सरकारमा एकमना एकताका साथ चलौं ! विधानसम्मत ढंगले हार्दिकताका साथ पार्टी जीवनमा अन्तरसंघर्ष सञ्चालन गरौं ! अन्तरसंघर्षको नाममा प्राप्त जनमत, जनविश्वास र र कमाएको मर्यादा नगुमाऔं ! हामीलाई अहिले यहाँ केवल धैर्यताको खाँचो छ । यसलाई गुम्न नदिऔं ! परस्पर उब्जने कुनै पनि बिचारको कदर र व्यक्तित्वको सम्मान गरौं !

प्रवासी नेपालीहरू पनि देशभित्रका आम नागरिकसरह नागरिक हुन् । विभिन्न कारणले बसोबास देशबाहिर भए पनि आफ्नै नागरिक हुन् । राजनीतिक जिम्मेवारीका हिसावले, सामाजिक–सांस्कृतिक उत्तरदायित्व वहनका हिसावले र मुलुकको आजको सवल र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माण एवं विकासका हिसावले देशबासी सरह प्रवासी नागरिको उल्लेख्य योगदान रहँदै आएको छ । अझ कतिपय मूल्यमा घरबासीभन्दा प्रवासीहरू अग्रणी पनि होलान् ! यसलाई अवहेलना नगरौं । प्रवासी नोपलीहरू अहिले बिचल्लीमा परेका छन् । तत्काल प्रवासी नेपाली नागरिकलाई अभिभावक चाहिएको छ । आफ्नाआफन्तजनको स्नेह चाहिएको छ ।

आफ्नै गाउँठाउँको मायाममता चाहिएको छ । समाजवादी राज्य चरित्र निर्माण गर्ने कम्युनिष्ट पार्टी सञ्चालित राज्य हुने कुराको गर्विलो अनुभूति चाहिएको छ । प्रवासी नेपालीको आर्तनादले आफूमा रहेको श्रम, सीप, उद्यमशीलता, पौरख, अनुभव, अनुभूति, पूंजी र प्रविधिको प्रयोग सहित समृद्ध नेपाल र सुखी नेपाली निर्माणको अभियानमा अनिवार्य सहयोगी बन्न चाहन्छ । प्रवासका तमाम संघसंस्था र नेपाली कूटनीतिक नियोगबीच समन्वयात्मक भूमिका अभिबृद्धिको खाँचो छ । यो खाँचो पूर्ताल गर्ने काम तपाईं नेतृत्वले गर्नुस् ! समृद्ध नेपाल र सुखी नेपाली निर्माण अवश्यंभावी छ ।

पञ्जाबको लुधियानामा बसोबास गर्दै आउनुभएका लेखक घिमिरे भारतस्थित प्रवासी नेपाली आन्दोलन निर्माणकालको अगुवा राजनीतिक–बैचारिक व्यक्तित्व र कुशल संगठक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस