कोरोना सङक्रमण बढेसँगै चितवन कारागारमा उच्च सतर्कता


चितवन – कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो ।

क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए । सार्वजनिकस्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।

उनले भने, “जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरूसँग भेटघाटमा रोक लगाएका छौ ।” कारागार कार्यालयले बाहिरबाट ल्याइएका कैदीबन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उनले जानकारी दिए । उनले भन्नुभयो “पिसिआर परिक्षणको रिपोर्ट नभएसम्म कैदीबन्दी हामी बुझ्दैनौ ।”

कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उनले बताए । कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेन्टिनको व्यवस्था गरिएको उनले बताए । जहाँ नयाँ आएका र बिरामीलाई छुट्टै राख्ने गरिन्छ ।

उनले भने, “दुई कोठालाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको छ ।” अहिले क्वारेन्टिनमा १३ कैदीबन्दी रहेका छन् । बाहिरबाट कारागारमा थपिने कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ । २५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना रहेका छन् ।

जसमध्ये ४४५ कैदी तथा २५८ बन्दी छन् । कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरुसँगै दुई आश्रित बालिका छन् । कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदीबन्दी रहेको काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement