काेराेनाकाे पहिलो खोप टेकु अस्पतालका निर्देशकले लगाउने, खोपले ‘साइडइफेक्ट’ गरे को जिम्मेवार ?


काठमाण्डु – सरकारले सातै प्रदेशमा भोलि बुधबारबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ ।

भारत सरकारले बिहीबार अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप बुधबारदेखि वितरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशको खोप भण्डाराण केन्द्रहरूमा पुर्‍याईसकेको छ ।

माघ १४ अर्थात भोलिदेखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोना खोप लगाउने तयारी सरकारको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीका अनुसार आगामी माघ १४ गते बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको घोषणा गर्नेछन् ।

प्रधानमन्त्री ओलीको घोषणासँगै काठमाण्डुमा कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् । उनले आफूसहित टेकु अस्पतालका सबै स्वास्थ्यकर्मीले खोप लगाउने बताए । त्यसपछि सातै प्रदेशका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट एकैसाथ कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिनेछ ।

पहिलो चरणको खोप अभियानमा संघ, प्रदेश र स्थानीय तहमा सबै प्रकारका स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ को नियन्त्रण तथा जोखिम न्यूनीकरणमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीहरुलाई प्राथमिकतामा राखिएको छ ।

स्वास्थ्य मन्त्री त्रिपाठीले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्यका साथ तयारी तीव्र पारिएको जानकारी दिएका छन् । मन्त्री त्रिपाठीले उक्त खोप विश्वसनीय भएको भन्दै निर्धक्क भएर खोप लगाउन आग्रह समेत गरेका छन् । वर्तमान सरकारले नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च महत्व दिएकाले पनि कोरोनाको उपचारमा आशाका नयाँ किरण देखिन थालेका छन् ।

खोपबाट केही भएमा को जिम्मेवार ?

सरकारले निर्धक्क भएर कोरोना विरुद्धको खोप लगाउन आग्रह गरिहेका बेला कोरोना भाइरस विरुद्धको खोपबाट उत्पन्न नकारात्मक असरको जिम्मेवार को हुने ? भन्ने विषय अहिलेको मुख्य विषय बनेको छ ।

भारतको खोप उपत्पादक कम्पनी सेरमले समेत स्वास्थ्यमा विभिन्न किसिमका सम्स्या भएका व्यक्तिहरुले खोप नलगाउन आग्रह गरिसकेको छ । यता सरकारले भने कोभिड–१९ विरुद्धको खोप लगाउन चाहनेहरूले खोपका कारणले भविष्यमा कुनै समस्या आएमा आफु स्वयम जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको छ ।

सरकारको खोप अभियानप्रति अग्रस्थानमा रहेर काम गर्ने केही स्वास्थ्यकर्मीहरुमा भने कुनै उत्साह देखिँदैन । केही स्वास्थ्यकर्मीहरुले सरकारको कोरोना खोप अभियानमा सहभागी नुहने बताउन थालिसकेका छन् ।

‘नेपाल सरकारबाट कोभिड–१९ विरुद्धमा उपलब्ध भएको खोप मैले मेरो राजीखुशी लिएको छु र पछि कुनै समस्या आएमा कोही कसैलाई दोष नदिई म स्वयं जिम्मेवार हुनेछु,’ स्वास्थ्य मन्त्रालयले कोराना भाइरस विरुद्धको खोप अभियान संचालनका लागि खोप लिनेलाई विवरण भर्न दिइने खोप कार्डमा लेखिएको छ ।

खोप कार्डमा लेखिएको यही वाक्यप्रति असहमति जनाउँदै केही स्वास्थ्यकर्मीहरुले सरकारको खोप कार्यक्रममा सहभागी नहुने बताएका छन् । ‘अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप लगाउनुपूर्व यो कार्डमा लेखिएको मञ्जुरीनामामा सही छाप गर्नुपर्ने ? सरकारलाई म मञ्जुरी दिन्नँ,’ बाराको विश्रामपुर गाउँपालिकाका स्वास्थ्य संयोजक अली अकबर हुसैनले सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन् ।

कोरोना संक्रमितको व्यवस्थापनामा प्रत्यक्ष रूपमा खटिएका हुसेनले खोप लगाउन आफू तयार भएको तर खोपबाट कुनै समूस्या आए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने तर्क गरेका छन् । हुसेन मात्र होइन, अन्य केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मञ्जुरीनामाको विरोध गरेका छन् ।

कानुनमा के छ व्यवस्था ?

खोप ऐन, २०७२ मा खोप लगाएपछि हुनसक्ने अनपेच्छित घटनाको अनुसन्धान गर्न ‘अनुसन्धान समिति’ रहने व्यवस्था गरिएको छ ।

ऐनमा उपचार तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थामा कुनै खोप लगाएकै कारणबाट खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको कुरा वा खोप लगाएका व्यक्तिको मृत्यु भएको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो, सो निकाय वा संस्थाले त्यस्तो व्यक्तिको उपचार गरी क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले खोपको मञ्जुरीनामामा जेसुकै लेखिएको भएपनि खोप लगाएर कुनै असर देखिएमा त्यसको जिम्मेवारी सरकारले नै लिने बताएका छन् । ‘कोरोनाको खोपमा पनि खोप ऐनमा भएको व्यवस्था नै लागू हुन्छ,’ उनले भने ।
मन्त्री त्रिपाठीले कोरोनाको खोप लगाएर कुनै स्वास्थ्य समस्या देखिएमा त्यसको तत्काल अध्ययन कसरी गर्ने भनेर स्वास्थ्य मन्त्रालयमा छलफलसमेत भइसकेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पनि कोरोनाविरुद्धको खोप लगाउँदा कुनै स्वास्थ्य समस्या देखिएमा उनीहरूको स्वास्थ्य उपचार सरकारले नै गर्ने बताएका छन् ।

यस्ता समस्या भएकाले लगाउन नहुने

खोप लगाउने सन्दर्भमा नागरिक सचेतना पनि आवश्यक हुन्छ । एलर्जीको समस्या भएका व्यक्ति गर्भवतीले खोप लगाउन नहुने भनिएको छ । यसैगरी खोपको पहिलो मात्रा लगाएपछि एलर्जी वा अन्य स्वास्थ्य समस्या देखियो भने पनि दोस्रो मात्रा लगाउनु हुँदैन । खोप लगाउने समयमा ज्वरो आएको भएमा पनि यो खोप लगाउन नहुने जनाइएको छ ।

यसैगरी रगतसम्बन्धी रोग भएका, रगत पातलो बनाउने औषधि लिइरहेका र रोग प्रतिरोध क्षमता बढाउने औषधि लिइरहेका व्यक्तिहरूले कोभिसिल्ड खोप लगाउन हुँदैन । भनिएकाले नागरिकहरूले खोप लगाउनुपूर्व आफ्नो स्वास्थका बारेमा स्पष्ट हुन आवश्यक हुन्छ । यसैगरी पहिला कोरोनासम्बन्धी अन्य कुनै खोप लगाएको छ भने पनि कोभिसिल्ड नलगाउन भनिएको छ ।

खोपको परीक्षण १८ वर्षभन्दा मुनिका व्यक्तिमा नभएकाले उक्त उमेर समूहलाई पनि उक्त खोप दिन नहुने जनाएको छ । सरकारले उपलब्ध गराएको खोपको पूर्ण सदुपयोग गर्न नागरिक लगायत सम्बद्ध पक्षको सहयोग र समन्वय हुनुपर्ने भएकाले सबैले आ–आफ्ना स्थानबाट सहयोग गर्नुपर्ने आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस