कोरोना हटस्पट बनेको जिल्लामा संक्रमितलाई परीक्षणबिनै धमाधम घर पठाईयो


काठमाडाैं – कोरोना हटस्पट बनेको जिल्लामा संक्रमितलाई पीसीआर परीक्षणबिनै धमाधम घर पठाउन थालिएको छ । कपिलवस्तु–८ स्थित विश्वमैत्री प्राविका आठ र कचरिहवा मदरसाका तीन जनालाई पीसीआर परीक्षणबिनै घर पठाइएको हो ।उनीहरू दोहनी गाउँका बासिन्दा हुन् । संक्रमण पुष्टि भएयता उनीहरूको पुन: पीसीआर परीक्षण गरिएको छैन ।

१४ दिन आइसोलेसनमा बसिसकेपछि थप लक्षण र बिरामी नभएमा घर पठाउने सरकारको नयाँ नीतिअनुसार उनीहरूलाई घर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । ‘हामीले पठाउन खोजेका थिएनौं,’ उनले भने, ‘सरकारको नीति मान्नै पर्‍यो ।’ उनका अनुसार अहिलेको निर्देशिका जारी हुनुपूर्व संक्रमितको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको थियो । दुवै रिपोर्ट नेगेटिभ आएपछि जिल्लाका ४२ जना यसअघि संक्रमणमुक्त भएका थिए । गत जेठ २४ देखि जिल्लामा नयाँ निर्देशिकाअनुसार परीक्षणबिनै घर पठाउन थालिएको छ ।

यशोधरा गाउँपालिकाका ३८ जना संक्रमितलाई पनि दोस्रो रिपोर्ट नआउँदै घर पठाइएको छ । गाउँपालिकाको अनिरुद्र पब्लिक माविको आइसोलेसनमा रहेका ३८ जनाको स्वाब संकलन गरी तेस्रोपटक पीसीआरका लागि दाङ पठाइएको थियो । उनीहरूको जेठ २१ गते स्वाब पठाइएको हो । त्यस्तै त्यही क्वारेन्टाइनमा रहेका २९ जनालाई संक्रमणको कुनै लक्षण नदेखिएको भन्दै घर पठाइएको छ ।

‘गाउँपालिकाले संक्रमितको पीसीआर परीक्षणपछि मात्र घर पठाउने योजना बनाएको थियो,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले भने, ‘जिल्लाबाट डाक्टर आएर हेरेर पठाइदिनुभयो,’ उनले भने । नयाँ निर्देशिकाअनुसार उनीहरूमा लक्षण नदेखिएकाले आफूले डिस्चार्ज गरेको जिल्ला अस्पतालका डा. किशोर बन्जाडेले बताए । ‘उनीहरूलाई एक सातासम्म घरमै आइसोलेसनमा बस्न भनेका छौं,’ उनले भने । त्यस्तै, यशोधरा–६ को क्वारेन्टाइनमा रहेका २४ जना, वसन्तपुरको क्वारेन्टाइनमा रहेका १३ र बैदोली मदरसा क्वारेन्टाइनमा रहेका १२ जनालाई मंगलबार घर पठाइएको छ । त्यस्तै, महाराजगन्ज नगरपालिकामा दुई दिनमा ५० जना संक्रमितलाई घर पठाइएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement