भ्रष्टाचारको मुद्दामा सरकारी पक्षको बेवास्ता, आदेश पालना नगरेको अदालतको ठहर

भ्रष्टाचारको मुद्दामा सरकारी पक्षको बेवास्ता, आदेश पालना नगरेको अदालतको ठहर


काठमाण्डु – विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षले आदेशको पालना नगरी बेवास्ता गरेको पाइएको छ ।

गत साउन २७ गते नै २१ दिनभित्र बहस नोट पेश गर्न मुद्दाका दुवै पक्षका कानून व्यवसायीलाई भनिएकोमा सरकारी पक्षबाट हालसम्म बहस नोट पेश नभएको र आदेशको पालना नभएको विशेष अदालतको ठहर छ ।

सरकारी पक्षबाट पटक–पटक पेशी सारिएपछि आईतबार विशेष अदालतले सरकारी पक्षलाई पेशी स्थगित नगर्न आदेश दिएको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले वादी नेपाल सरकारको तर्फबाट न्याय सम्पादन प्रक्रियामा सहजीकरण नगरी आदेश पालना नगरेको ठहर गरेको छ ।

आईतबार भएको आदेशमा उल्लेख छ ,‘यसमा प्रस्तुत मुद्दाको सुनुवाइमा वादी नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्न असमर्थ भएको भनी आज र विगतका पेशीमा पनि अनुरोध गर्दै आएको देखियो । प्रतिवादीहरूको तर्फबाट मुद्दाको सुनुवाइ गरी पाऊँ भनी इजलाससमक्ष अनुरोध भएको पाइयो । यस सन्दर्भमा दुवै पक्षबाट २१ दिनभित्र लिखित बहसनोट पेश गर्नू भनी मिति २०८१ साउन २७ मा नै आदेश भएकोमा सरकारी पक्षबाट सोबमोजिम बहसनोट पेश गरेको समेत देखिएन । यसरी बादी नेपाल सरकारको तर्फबाट न्याय सम्पादन प्रक्रियामा सहजीकरण नगरी आदेशको परिपालना समेत नगरेको स्थितिमा अब पुनः स्थगित नहुने गरी यथाशीघ्र पेशी तोकी नियमानुसार पेश गर्नू ।’