क्वारेन्टाइनका नेपाली कोरोनामुक्त


काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन ।

क्वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि खरिपाटीमा खुसी छाएको छ । क्वारेन्टाइनमा बसेका अभिभावक तथा आफन्तमा समेत यो खबरले खुसी छाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमार्फत चीनबाट उद्धार गरी ल्याइएका १७५ जना व्यक्ति कोहीलाई पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएको प्रस्ट गरेपछि यस्तो खुसी छाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका टोलीले आइतबार नेपालीको घाँटीको ¥याल सङ्कलन गरी परीक्षण गरेको थियो । परीक्षणका क्रममा १७५ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले सरकारले उद्धार गरी ल्याएका सबै नेपालीको कोभिड–१९ भाइरसको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमण नभएको जानकारी दिँदै सबै नेपाली भाइरस सङ्क्रमणमुक्त रहेको बताउनुभयाे।

उहाँले क्वारेन्टाइनमा राखेको १४ दिनका दिन नाक तथा घाँटीको ¥याल निकालेर परीक्षण गर्ने जानकारी दिँदै त्यसको रिपोर्ट नेगेटिभ आएको अवस्थामा क्वारेन्टाइनमा रहेका नेपाललाई घर जान दिइनेछ भन्नुभयो । राष्ट्रिय प्रयोगशालाले सबैजनाको परीक्षण गर्न तीन दिन लगाएको थियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement