कोरोनाको कहालीलाग्दो अवस्थाः संक्रमित श्रीमानलाई बचाउने अन्तिम प्रयास !


एजेन्सी – कोरोना भाइरसको महामारी विश्वभरी फैलिएको छ । त्यसबाट छिमेकी मुलुक भारत सबैभन्दा प्रभावित बनेको छ ।

भारतमा कोरोना संक्रमणदर र मृत्युदर उच्च बन्दै गइरहेको छ । अस्पतालमा बिरामीका लागि बेडको अभाव छ भने अक्सिजन र औषधिको अभाव पनि त्यत्तिकै मात्रामा रहेको छ । संक्रमितहरु अक्सिजन नपाएर मर्न थालेका छन् ।

भारतमा एक जना कोरोना संक्रमितको तस्बीर सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । अक्सिजन नपाएका एक जना कोरोना संक्रमितलाई बचाउन उनकी पत्नीले गरेको प्रयासले सबैको मन निचोरेको छ ।

ती महिलाले आफ्ना श्रीमानलाई बचाउन मुखले अक्सिजन दिइरहेकी छन् । अटो रिक्सामा रहेका आफ्ना पतीलाई उनले मुखले स्वास दिएर बचाउने प्रयास गरेकी छन् ।

ट्वीटरमा एक जना प्रयोगकर्ताले लेखेका छन्, ‘छुँदा पनि फैलिने रोगमा सासबाट सास दिने हिम्मत गर्नु मुर्खता त हो तर प्रेम विवश र लाचार छ, आफ्नालाई बचाउने अन्तिम प्रयास हो, यस्तो अवस्थामा आफ्नो ज्यानको पर्वाह नै कहाँ हुन्छ र !’

अटो रिक्सामा हालेर उनले आफ्ना पतिलाई आगराको एसएन मेडिकल कलेज पुर्‍याएकी थिइन् । अक्सिजन नपाएपछि उनका पतिले मृत्यु वरण गर्नुपरेको भारतीइ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा दैनिक तीन लाख संक्रमित फेला

भारतमा गत २४ तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ ।

त्यसैगरी यहाँ गएको २४ घण्टायता दुुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट एक करोड ७० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका बताइएको छ । भारतमा हाल २८ लाख १३ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतमा हालसम्म १ करोड ४३ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन् । कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।

यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड १९ लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् ।

रुसले विकास गरेको स्पुट्निक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् । भारतमा सोमबार मात्रै १४ लाख २ हजार ३६७ जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

अप्रिल २५ सम्म कूल २७ करोड ९३ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ । भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement