नेपाल भित्रिएको कोरोनाको झण्डै २५ लाख डोज खोप ‘गायब’


काठमाण्डु – नेपाल भित्रिएको झण्डै २५ लाख डोज खोप गायव भएको छ । विभिन्न देशबाट नेपाल भित्रिएको २० देखि २५ लाख कोरोनाविरुद्धको खोप रेकर्डमा नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले बताएका छन् ।

मंगलबार शिक्षा तथा स्वास्थ्य समितिमा सचिव पोखरेलले कोरोनाभाइरसको पछिल्लो अवस्था र खोपको प्रगतिबारे जानकारी दिँदै पहुँचको आधारमा बिनादर्ता खोप लगाउनेहरु अत्यधिक भएकाले झन्डै २५ लाख खोप रेकर्ड बाहिर रहेको बताएका हुन् ।

‘कतिले पहुँचको आधारमा खोप लगाएका छन् । तर त्यसको रेकर्ड गरिएको छैन । त्यसले गर्दा २० देखि २५ लाख खोपको फरक देखिएको छ,’ उनले भने । कतिपय व्यक्तिहरूले बिना कार्ड खोप लगाएका कारण उक्त समस्या देखिएको बताए । शहरी क्षेत्रमा अधिकांशले तेस्रो डोज खोप लगाइसकेका छन् ।

तेस्रो डोज लगाउनेको यकिन तथ्यांक राख्ने प्रयास मन्त्रालयले गरिरहेको उनको भनाई छ । अधिकांश सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, उच्च ओहदाका कर्मचारी, नेता तथा मिडियाकर्मीले समेत तेस्रो मात्रा लुकीछिपी यसअघि नै लगाइरहेको पाइएको छ ।

पहुँच हुनेले तेस्रो मात्रा लगाइसक्दा पनि सरकारी संयन्त्रले भने पहिलो र दोस्रो मात्रा लगाएकाहरूको रेकर्ड दुरुस्त राख्न सकेको छैन । सरकारले अनिवार्य अनलाइन दर्तामार्फत खोप लगाउने भनेपनि केन्द्रमा दर्ता भएको नाम प्रमाणीकरण गर्ने कुनै प्रणाली छैन ।

सेवाग्राहीले लिएर गएको अनलाइन फाराम हेरेकै भरमा धमाधम खोप दिइने गरिएको छ । कुन व्यक्तिले कति मात्राको खोप लगाउँदै छ भन्ने संयन्त्रै नहुँदा खोप अभियान अस्तव्यस्त बनेको छ भने लक्षित वर्गसमेत सहजपूर्वक खोप पाउने अधिकारबाट बञ्चित भएका छन् ।

साथै ठूला सहरहरूमा ७० देखि ८० प्रतिशत मानिसलाई खोप लगाइएको उल्लेख गर्दै अझै स्थानीय तहमा खोपको पहुँच पु¥याउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement