५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारी


काठमाण्डु – सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने फाइजरको खोप खरिद गर्ने तयारी गरेको हो ।

विश्वका विभिन्न मुलुकले यो उमेर समूहका बालबालिकालाई मिल्ने फाइजरको खोप लगाउन थालिसकेका छन् । सरकारले यो उमेर समूहका बालबालिकालाई दुई मात्रा पुग्ने ८० लाख मात्रा खोप खरिदको प्रस्ताव गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस सम्झौताका लागि फाइजर कम्पनीले दुई महिनाको समय मागेको मन्त्रालयका एक अधिकारीले बताए । ५ देखि ११ वर्षका बालबालिकाका लागि ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजरले जनाएको छ । १२ वर्षभन्दा माथिका सबैलाई भने फाइजरले ०.३ एमएलका दरले दुई डोज तोकेको छ ।

नेपालमा ११ वर्षमुनिका बालबालिकामा पनि संक्रमण बढ्न थालेको छ । सोमबार मात्रै देशभर ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएकामा ११ वर्षमुनिका ८७ जना छन् । आइतबार झन् बढी ९१ जना संक्रमित ११ वर्षमुनिका थिए ।

विश्व स्वास्थ्य संगठनले उच्च ज्वरो, लगातार खोकी र गन्ध तथा स्वाद थाहा नपाउनेजस्ता लक्षणलाई कोभिडका मुख्य लक्षणको रूपमा परिभाषित गर्दै आएको छ । तर, तेस्रो लहर भित्र्याएको ओमिक्रोनको लक्षण डेल्टाको भन्दा फरक रहेको पछिल्ला सर्वेक्षणहरूले देखाएका छन् । अधिकांश संक्रमितमा घाँटी दुख्ने र टाउको दुख्नेजस्ता सामान्य लक्षण मात्रै देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement