उपत्यका बाहिरका यी १४ जिल्ला कोरोनाको ‘उच्च जोखिममा’


काठमाण्डु – पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । काठमाण्डु उपत्यका लगायत, सीमावर्ती जिल्ला र मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ ।

उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरमा संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गएको छ । मुलुकभर दैनिक पुष्टि हुने संक्रमितमध्ये उपत्यकामा झन्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार काठमाण्डुमा मात्रै ४ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने ललितपुरमा ९ सय ४७ र भक्तपुरमा ५ सय ७० जना संक्रमित थपिएका छन् ।

पछिल्लो समय मंगलबार मात्रै सबैभन्दा उच्च १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरेकामध्ये झन्डै ५० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । बढ्दो सहरकेन्द्रित संक्रमणले गाउँमा पनि फैलिने जोखिम देखिएको छ ।

उपत्यकाबाहिर कुन–कुन जिल्ला उच्च जोखिममा ?

उपत्यका बाहिरका मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली कोरोना संक्रमणको उच्च जोखिमको सूचीमा परेका छन् । यी जिल्लामा ५ सयभन्दा माथि संक्रमित अस्पताल भर्ना भएका छन् ।

भारतबाट फर्केकाहरू सीमा नाकामा ‘होल्डिङ’ नहुँदा कतिपय सीमावर्ती जिल्ला हटस्पट बनिरहेका छन् । खुला सीमाका कारण नरोकिएको आवातजावत र भीडभाडले कोरोना संक्रमण बढेको हो । धनुषा, पर्सा, नवलपरासी पुर्व, बाँके, दाङ र कञ्चनपुरमा पनि कोरोना संक्रमित दैनिक बढिरहेका छन् ।

आगामी तीन साता संक्रमणको हिसाबले जोखिमपूर्ण हुने स्वाथ्यविज्ञहरु बताउँछन् । सरकारले भीडभाड कम गर्न स्वास्थ्यका मापदण्ड तोकेपनि त्यसलाई पूर्ण रुपमा पालना गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement