सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता


काठमाण्डु – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन च्या च्युन र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

सोमबार काठमाडौंमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध,आर्थिक,व्यापारिक, राजनीतिक,सामाजिक,धार्मिक आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्त्व दिँदै उपल्लो स्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेका थिए । ‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’

सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे । उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालिन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धि र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिए ।

हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै सभामुख घिमिरेको भनाइ छ । उनले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेको बताउँदै जसले नेपालको पर्यटन उद्योगमा टेवा पुर्‍याएको उल्लेख गरे ।

सीपीसी नेता युआनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताए । उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गरे । नेता युआनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement