चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ जियान्चाओले आज प्रचण्डलाई भेट्दै


काठमाण्डु – चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका लिउ जियानचाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्दैछन् । उनले प्रचण्डसँग साँझ सोल्टी होटेलमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै उनले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कनेछन्। सीपीसीका विदेश विभाग प्रमुख जियानचाओ आइतबार बिहान काठमाडौं आएका थिए । उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार बेलुकी रात्रिभोज आयोजना गरेका थिए ।

गत जुन महिनामा सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउको पहिलो विदेश भ्रमण नेपालबाटै भएकाे हाे । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि अमेरिकातिर बढी ढल्किएको देखिएका बेला लिउको नेपाल भ्रमण भएको हाे । नवनियुक्त भएकाले लिउको नेपाल भ्रमणको पहिलो ‘टार्गेट’ सम्बन्ध सुधार हो । नेपाली नेताहरूसंग औपचारिक/अनौपचारिक सम्बन्ध सुधार गर्ने प्रमुख उद्देश्य बोकेर उनी नेपाल भ्रमणमा आएका जानकारहरू बताउंछन् ।

चीनले नेपालमा कम्युनिस्ट एकता होस् भन्ने चाहन्छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुंदा चीनबाट उच्चस्तरीय टोली नै आएर पार्टी एकता कायमै राख्ने प्रयास गरेको थियो । नेपालका लागि चिनियां राजदूत होउ यान्छीले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपाललाई सांझ बिहान भेट्ने गरेकी थिइन् तर चिनियां चाहना भने त्यतिबेला सफल हुन सकेन ।

अध्यक्षहरू प्रचण्ड र माधव नेपालको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपाल सरकार अमेरिकासंग नजिक देखिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गरिएको छ भने सैन्य सहकार्य लगायतका विवादित विषय अगाडि बढेका छन्, जसलाई चीनले रुचाइरहेको छैन । कम्युनिस्ट पार्टीहरू एकै हुंदासम्म एमसीसी पारित हुन सकेको थिएन । अमेरिकाले पछिल्लो समय एसपीपी अघि नबढ्ने भएपछी स्टाटस अफ फोर्सेस एग्रिमेण्ट (सोफा) मा हस्ताक्षर गर्न लविङ सुरु गरेको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको दौरान त्यसलाई मूर्त रुप दिने सम्भावना पनि छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement