आईसीसी विश्वकप क्रिकेटः अमेरिकामाथि ओमानको सानदार जित


काठमाडौं – ओमानले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जीत हात पारेको छ । अकिब इल्यास र मोहम्मद नदिमले अर्धशतक प्रहार गरेपछि ओमानले बिहीबार अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

ओमानले पहिलो खेलमा नेपाललाई १८ रनले पराजित गरेको थियो । लगातार दोस्रो जीतपछि ओमानले लिग २ मा अमेरिका समान १२ अंक जोडेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा अमेरिकाले दिएको २१४ रनको लक्ष्य ओमानले ३ बल अगावै ४ विकेट गुमाएर पूरा गरेको हो ।

ओमानका लागि अकिब इल्यासले सर्वा्धिक ७२ रन बनाए । उनले ११० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । ओपनर खावर अलीले ३१ रन जोडे । ओपनर जतिन्दर अली तेस्रो ओभरमा ४ रन मात्र बनाएर आउट भएपछि खावर अली र अकिबले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे ।

नेपालविरुद्ध म्यान अफ दि म्याच बनेका मोहमम्द नदिमले अविजित ५५ रन बनाए । उनले ८५ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै सुरज कुमारले ३५ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३३ रन बनाए ।

नदिम र सुरज कुमारले पाँचौ विकेटका लागि अविजित ६३ रनको साझेदारी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement