टीयू क्रिकेट मैदान निर्माणमा प्रधानमन्त्री ओलीको वाचालाई धक्का !

टीयू क्रिकेट मैदान निर्माणमा प्रधानमन्त्री ओलीको वाचालाई धक्का !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए । तर ३२९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ ।

प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टीयू मैदान ३०० दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए ।

शहरी विकास मन्त्रालयले वैशाख २४ गतेभित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिनाअघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुने गरी काम अगाडि बढिरहेको बताएका थिए ।

मैदानमा अन्तरराष्ट्रिय मापदण्डअनुरूप प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम २०८१ फागुनमा सम्झौता भई २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो । तर मैदानको अवलोकनका लागि आईतबार कीर्तिपुर पुग्दा निर्माण कार्य धमाधम थियो ।

प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखमा ठेक्का लिएको बीकेओआई–केसीडीसी–बीजी जेभीले मैदान निर्माणको कामलाई तीब्रता दिइरहेको देखिन्छ । फ्ल्ड लाइड जडान गर्नका लगि २७ करोड ४० लाख रुपैयाँमा अर्को ठेक्का पाएको विशाण–ईश्वरी जोइन्ट भेन्चरको काम भने रफ्तारमा दौडिएको देखिँदैन । अन्य काम सकिएपछि लाइट जडानको काम सुरु गर्ने विशाण–ईश्वरी जोइन्ट भेन्चरको दाबी छ ।

लाइटका लागि पूर्वाधारको काम जारी रहे पनि प्यारापिटको काम सकिएपछि थप काम गर्न सहज हुने दाबी गरिएको छ ।

काममा सुस्तता देखिएपछि प्रधानमन्त्री ओलीले ३०० दिनभित्र रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै स्पष्टीकरण नै सोध्न भ्याएका छन् । उनले शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका हुन् । उनले थपिएको समयमा जसरी पनि काम सम्पन्न गर्न निर्देशन दिएका छन् । तर निर्माण पक्षले जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छ्याउने काममा कानूनी समयसीमाको समस्या देखाएको छ ।

बीकेओआई–केसीडीसी–बीजी जेभीको प्यारापिट निर्माण प्रोजेक्टको डाइरेक्टर भरत गिरीले २४ घण्टा नै खटेर र सबै कामदारहरू परिचालन गरेर काम गरिरहेको बताउँछन् । ‘हामीले ६५ प्रतिशत काम पूरा गरेका छौं । प्यारापिट कास्टिङको काम जेठभित्रमा भ्याउँछौं । त्यसपछि कुर्सी स्टल गर्ने काम असारमा गर्छाैं । निर्माण सामग्री र बजेटको कुनै अभाव नभए पनि प्रथमपटक म्याद थप गरेकाले तोकिएको समयमा काम सक्छौं,’ गिरीले भने, ‘३०० दिनको तयारी गरेर सरकार अगाडि बढ्दा २३४ दिन सकिएपछि ६६ दिन बाँकी हुँदा निर्माण व्यवसायीका रूपमा छनोट भयौं । ६६ दिन बाँकी रहँदा एग्रिमेन्ट गर्‍यौं । त्यसपछि करीब १० दिन मौसम र चाडपर्व, डिजाइनमा परिवर्तन/परिमार्जन गर्नुपर्ने अवस्था आयो । त्यसकारण पनि तोकिएको समयमा काम गर्न नसकिएको हो । तर थपिएको समयमा निर्माण कार्य सकिन्छ । यो प्रथमपटक म्याद थपिएको हो ।’

निर्माण कम्पनीले थप २ महिनाभित्र प्यारापिट निर्माण र फÞ्लडलाइट जडानको काम पूरा गर्ने वाचा गरेको प्रधानमन्त्री सचिवालयलको दाबी छ ।

सरकारले मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने घोषणा गरिसकेकाले निर्माण पक्ष थप दबाबमा परेको छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका थिए । उनले रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा ३ तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानूनी व्यवस्था मिलाइने बताए ।

तर पछिल्लो समय भारत–पाकिस्तानबीच देखिएको तनावका कारण कुर्सी लगायतका सामग्री ल्याउन कठिन हुने निर्माण टीमको भनाइ छ । यता लाइट जडानको जिम्मेवारी पाएको कम्पनीले पनि काम भने जारी राखेको छ ।