काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले ओमानमाथि सानदार जीत निकालेको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबार भएको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै सुखद अन्त्य गरेको छ । शृंखलामा नेपालले ४ खेलमध्ये ३ जीत र १ खेलमा हार व्यहोरेको छ ।
नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.३ ओभरमा सबै विकेट गुमाउँदै १७५ रनमै समेटिएको छ । ओमानलाई सस्तैमा रोक्न गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । उनले ९ ओभरमा ३८ रन खर्चिए । करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।
ओमानका विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए भने हमाद मिर्जाले ३४ रन जोडे । ओपनर हस्नैन उल वहाबले २९ रन बनाउँदा कप्तान जतिन्दर सिंह र नदिम खानले समान १२ रन जोडे । हस्नैन साहले १४ तथा वसिम अलीले १० रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ शेखले उत्कृष्ट ९४ रन बनाए । उनले ९७ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।
आशिफले दोस्रो विकेटका लागि अर्जुन कुमालसँग १२२ रनको शतकीय साझेदारी गरेका थिए । अर्जुनले ८७ बलमा ४ चौकासहित ४८ रन बनाए । २७.५ ओभरमा अर्जुन क्याचआउट भएपछि साझेदारी टुटेको थियो ।
अविजित रहेका आरिफ शेखले ४३ रन बनाए भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे । गुल्सन झाले १७ रनको योगदान दिए । ओमानका नदिम खानले ३ विकेट लिए । शकिल अहमद र हस्नैन साहले समान २ विकेट लिँदा जितेन्द्र रमानन्दी र आर्यन विष्टले समान १–१ विकेट लिए ।
यससँगै नेपालले घरेलु मैदानमा ६ अंक जोड्दै लिग–२ तालिकामा कुल १८ अंक पुर्याएको छ । सातौँ स्थानमा रहेको नेपालले २४ खेलमा ८ जीत र १४ हार व्यहोरेको छ भने २ खेल रद्द भएका थिए ।
मंगलबारको हारसँगै ओमानले शृंखलामा ४ खेलमध्ये २ जीत र २ हारको नतिजा निकालेको छ । तालिकाको तेस्रो स्थानमा रहेको ओमानले २८ खेलबाट ३१ अंक जोडेको छ । उसले १४ जीत, ११ हार व्यहोर्दा ३ खेल रद्द भएका थिए ।
यस नतिजासँगै नेपालले शीर्ष ४ मा पुग्ने सम्भावना जीवित राखेको छ । बाँकी १६ खेलमध्ये १३ खेल जित्नुपर्ने दबाबमा रहेको नेपालको विश्वकप क्वालिफायर यात्रा पनि थप रोमाञ्चक बनेको छ ।
नेपालले आगामी वैशाख २९ गतेदेखि घरेलु मैदानमै अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को त्रिदेशीय श्रृंखला खेल्ने तालिका छ ।




प्रतिक्रिया