भारत ‘ए’विरुद्ध नेपालका बलर हाबी, १५ ओभरमा ५७ रन जोड्दा गुम्यो ३ विकेट

भारत ‘ए’विरुद्ध नेपालका बलर हाबी, १५ ओभरमा ५७ रन जोड्दा गुम्यो ३ विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा भारत ‘ए’विरुद्ध नेपालले सुरुवातमै दबाब सिर्जना गरेको छ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार भइरहेको खेलमा नेपालले भारत ‘ए’लाई १५.१ ओभरमा ५७ रनमै ३ विकेट गुमाउने अवस्थामा पुर्‍याएको छ।

टस जितेर नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले पहिले बलिङ गर्ने निर्णय गरेका थिए। नेपालको सुरुवात प्रभावकारी रह्यो।

भारत ‘ए’का अभिषेक शर्मा ९ रन बनाएर पाँचौँ ओभरमा आउट भए। उनलाई नन्दन यादवले आउट गरेका थिए।

त्यसपछि आयुष बदोनी २ रनमा ललित राजवंशीको बलमा दीपक डुम्रेबाट स्टम्पिङ भए। १०.३ ओभरमा वैभव सूर्यवंशी २६ रन बनाएर पवन सर्राफको बलमा आउट भए।

भारत ‘ए’का कप्तान तिलक वर्मा ११ र विकेटकिपर ब्याटर कुमार कुशाग्र ७ रन बनाएर क्रिजमा छन्। भारतले अहिलेसम्म १५.१ ओभरमा ५७ रन बनाएको छ।

टस जितेर फिल्डिङ रोजेको नेपालका पवन सर्राफ, नन्दन यादव र ललित राजवंशीले लिए एक–एक विकेट

नेपालका लागि पवन सर्राफ, नन्दन यादव र ललित राजवंशीले एक–एक विकेट लिएका छन्। सर्राफले पाँच ओभरमा २१ रन खर्चेर एक विकेट लिएका छन् ।

यादवले पाँच ओभरमा १९ रन दिएर एक विकेट हात पारेका छन्। राजवंशीले १.१ ओभरमा तीन रन खर्चेर एक विकेट लिएका छन्।

नेपालले प्रतियोगितामा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै समूह ‘बी’मा प्रतिस्पर्धा गरिरहेको छ। नेपालले आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’सँग खेल्ने तालिका छ।

प्रतियोगितामा सहभागी नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्। टोलीमा कुशल भुर्तेल, अर्जुन कुमाल, वासिर अहमद, लोकेश बम, दीपक डुम्रे, नन्दन यादव, पवन सर्राफ, राशिद खान, ललित राजवंशी र प्रतीश जीसी छन्।

नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप राइजिङ स्टार्समा छनोट भएको हो। प्रतियोगितामा एसियाका आठ टोली सहभागी छन्।

यसअघि प्रतियोगिताअघि आयोजित कप्तानहरूको पत्रकार सम्मेलनमा भारत ‘ए’का कप्तान तिलक वर्माले नेपाली क्रिकेटको प्रशंसा गरेका थिए।

उनले पछिल्ला वर्षमा नेपालले क्रिकेटमा उल्लेखनीय प्रगति गरेको र सिनियर तथा इमर्जिङ दुवै तहमा राम्रो प्रदर्शन गरिरहेको बताएका थिए।

नेपाल प्रिमियर लिग (एनपीएल) जारी रहेकाले रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीलगायतका केही प्रमुख खेलाडी भने प्रतियोगितामा सहभागी छैनन्। रोहित र दीपेन्द्रको टोली एनपीएलको फाइनलमा पुगेका छन्।