क्रिकेट मुख्य प्रशिक्षकका लागि पुबुदु र मोन्टीको नाम शीर्ष स्थानमा


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकामा आवेदन दिएका पूर्व प्रशिक्षक पुबुदु दसानायके र मोन्टी देसाईलाई उनीहरूले प्राप्त गर्ने पारिश्रमिक, सेवासुबिधा, कर्तत्व र लक्ष्यसहितको प्रस्ताव पठाएको छ ।

क्यान स्रोतका अनुसार नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक रहिसकेका पुबुदु दसानायके र वेस्ट इन्डिजका ब्याटिङ सल्लाहकार समेत भएका भारतीय नागरिक मोन्टी देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि प्रस्ताव पठाइएको हो ।

क्यान अहिले दुई प्रशिक्षकको जवाफको प्रतिक्षामा छ । पुबुदु र मोन्टीको सहमति आएपछि क्यानले रिक्त रहेको प्रशिक्षक पाउनेछ । भदौमा तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा घोषणा गरेपछि नेपाली राष्ट्रिय प्रशिक्षकविहिन छ ।

क्यानले १ कार्तिकमा मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । जसमा ३० जनाले आवेदन दिएका थिए । क्यानले ३० बाट १५ हुँदै अन्तिममा ५ प्रशिक्षक छनोट गरेको थियो । जसबाट पुबुदु र मोन्टी प्रशिक्षकका लागि ठूलो नाम हो ।

क्यानले राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक छान्न कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र आइसीसीका एक प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरिएको जनाइएको थियो ।

श्रीलंकाका पूर्व खेलाडी समेत रहिसकेका पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० क्रिकेट विश्वकप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement