यौन हिंसाले गोंगबुमा बोहराको निर्मम हत्याः स्लिपिङ ट्याब्लेट खुवाएर शरीर टुक्राटुक्रा पारियो


काठमाण्डु – आइतबार निर्मम हत्या गरिएका दाङका कृष्णबहादुर बोहराको हत्या संलंग्न महिलाले आफूले नै हत्या गरेको स्वीकार गरेकी छन् । तर, उनले शव व्यवस्थापनमा छोरीको सहयोग लिएको बताएकी छन् । सोमबार चितवनबाट पक्राउ परेकी कल्पना मुडवरीलाई हिजो राती नै काठमाण्डु ल्याइसकिएको छ ।

पक्राउ परेकी मुडवरीले प्रहरीको प्रारम्भिक बयानका क्रममा एक्लै बोहराको हत्या गरेको बताएकी छन् । प्रहरीसमक्ष दिएको बयानअनुसार आर्थिक लेनदेन र यौन हिंसा हत्याको मुख्य कारण रहेको खुलेको छ ।

उनले हत्यापूर्व नशालु पदार्थ (स्लिपिङ ट्याब्लेट)खुवाएको पछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको बयान दिएकी छिन् ।

‘मलाई दुःख दिन आएपछि हत्या गरें । शव व्यवस्थापन छोरीको सहयोगमा गरेको हुँ’, प्रहरीसमक्ष उनले भनेकी छन् ।

हत्या गरिएका पुरुषको शव टुक्राटुक्रा पारिएको अवस्थामा प्रहरीले आइतबार बिहान फेला पारेको थियो । गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ ।

पक्राउ परेकी महिलासँग म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । हत्या गरेपछि आइतबार छोराछोरीसहित एम्बुलेन्सबाट चितवन पुगेकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement