उद्योगमन्त्री भण्डारी र रोमानियन राजदूतबीच भेटवार्ता

उद्योगमन्त्री भण्डारी र रोमानियन राजदूतबीच भेटवार्ता


काठमाण्डु – उर्जा, वाणिज्य तथा आपूर्ति मन्त्री दामोर भण्डारी र नेपालका लागि रोमानियाका राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित उद्योग मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्धिपक्षीय हित र सहयोग विषयमा छलफल भएको हो। भेटमा उद्योगमन्त्री भण्डारीले नेपालको आर्थिक सामाजिक विकासका लागि रोमानियाले द्धिपक्षीय रुपमा ईयुमार्फत प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको लागि धन्यवाद प्रदान गरे ।

उनले हालै सम्पन्न लगानी सम्मेलनले लगानीका क्षेत्रहरु पहिचान गरेको र लगानी मैत्री नीतिगत कानुनी व्यवस्था गरेको जानकारी दिदैँ राजदूतमार्फत रोमानियाका लगानी कर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

भेटमा उनले भने, ‘नेपालको व्यापार पूर्वाधार र अन्य प्राथिकमताका विकास क्षेत्रमा थप युरोपेली लगानी आउनेमा म आशावादी छु । रोमानियामा निर्यात हुने वस्तुको पहिचान र विकास गर्न द्धिपक्षीय व्यापारको पर्याप्त सम्भावना छ । आगामी दिनमा थप सहकार्य गर्न हामि इच्छुक छौं । ’

राजदूततानेले भेटमा रोमानियाका लगानी कर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको धारणा राखेका छन् । उनले दुई देशबीचको आर्थिक सम्बन्ध मजबूत बनाउनेमा जोड दिए।

राजदूत तानेले रोमानियामा हजारौं श्रमिकहरु रोजगारीको लागि पुगेको र उनीहरुलाई कुनै विभेद नभएको भन्दै अहिले दुवै देशबीच करिव ११ मिलियन डलरको व्यापार रहेको जानकारी दिए। उनले रोमानियामा हस्तकलाका सामाग्री निर्यातको सम्भावना समेत रहेको बताए।