सरकारले संवैधानिक आयोगको रिक्त पदमा दरखास्त आह्वान गर्यो


काठमाडौं -सरकारले संवैधानिक आयोगको रिक्त पदमा दरखास्त आह्वान गरेको छ । विभिन्न आठ संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्ति प्रक्रिया एकैपटक अघि सारेको छ ।

नेपालको संविधानमा व्यवस्था भएअनुसार आयोग स्थापनाका लागि सरकारले आयोग पदाधिकारी नियुक्ति प्रक्रिया सुरू गरेको हो। उक्त पदपूर्तिका लागि संवैधानिक परिषद्ले दरखास्त आह्वान गर्दै मंगलबार सूचना निकोलेको हो। योग्यता पुगेका उम्मेदवारहरूलाई आवेदनका लागि सात दिनको म्याद दिइएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोग अहिले अध्यक्षविहीन छन् भने चाररचार सदस्य पद पनि रिक्त छन्।

परिषद्का अनुुसार दरखास्त अनलाइनबाट मात्र दिन मिल्नेछ। जसका लागि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा गई संवैधानिक परिषद्को लिंकमा जानुपर्ने छ। उक्त लिंकबाट जुन पदका लागि आह्वान गरेको हो, सो पदका लागि दरखास्त दिन सकिने जनाइएको छ । एकभन्दा बढी पदमा दरखास्त दिन पनि पाइनेछ । त्यसका लागि फरक-फरक फारम भर्नुपर्ने परिषदको सूचनाम उल्लेख छ।

नेपालको संविधान अनुसार आयोगको अध्यक्ष वा सदस्य पदका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएकालाई योग्य मानिने छ। यस्तै, मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उत्तीर्ण गरेको, ४५ वर्ष उमेर पुगेको व्यक्तिले आयोग पदाधिकारीमा आवेदन दिन सक्ने छन्।

आवेदक कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने संवैधानिक व्यवस्था छ। महिला र दलित आयोग पहिलेदेखि थिए भने बाँकी ६ आयोग पछि थपिएका हुन्। संविधान जारी भएको झन्डै तीन वर्षपछि सरकारले आयोग गठनको प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement