दशैंमा कस्तो मासु खाने ? जानी राखौं


काठमाडौं – दशैं भन्नेबित्तिकै अधिकांश नेपालीको भान्सामा मासुका परिकार पाक्छन् भन्ने ठानिन्छ । कवाफ, सेकुवा, भुटन, सुकुटीजस्ता परिकारका अगाडि काउली, मुला, सागजस्ता तरकारीको कुनै गन्ती गरिँदैन । आफूसँग पर्याप्त पैसा नभए पनि ऋण मागेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी नै चल्छ ।

सोही कारण भन्ने गरिन्छ, “दशैं आयो ढोल बजाई, दशैं गयो ऋण बोकाई । ” विशेषगरी मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन हुन्छ, तर सानो–सानो लापरबाहीले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिमारी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । सोही कारण दशैंमा मासुका परिकारहरुको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।

मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बि, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । यी तत्वहरू हाम्रो शरीरको लागि एकदमै अति आवश्यक तत्वहरू हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर मासुबाट प्राप्त हुने् तत्वहरू त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन, यदि सही र सन्तुलित ढंगले प्रयोग नगरेको खण्डमा । यदि तपाईं–हामीले राम्रोसँग सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने, सर्ने खतरा रहन्छ ।

अमेरिका र युरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूको अध्ययन र अनुसन्धानका क्रममा निकालेको निष्कर्षअनुसार खानामा दैनिक अत्याधिक रातो मासुको प्रयोगले मानिसहरूको संवेदनशील अंग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँदछ ।

सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरिरमा भएका विभिन्न बलिया हड्डीहरू कमजोर हुने खतरा रहन्छ, आर्थाइटिस (हाडजोर्नीसम्बन्धी रोग)को सम्भावना अत्याधिक हुन्छ, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला–पुरुष दुवैमा कोलस्ट्रोलको मात्रा पनि शरिरमा बढ्न जान्छ । जसका कारण इच्छाएको परिकार खानबाट बञ्चित रहनुपर्ने हुन्छ ।

नेपालका मासु पसलहरूमा भएका लापरवाहीको कारण मानिसहरूमा धेरैजसो ब्याक्टेरियाको संक्रमण, जुकाका लार्भाहरू शरिरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने गरेको चिकित्सकहरू बताउँछन । फोहर बधशाला, मासुको तयारी र रखबारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका फ्लु तथा सरुवा रोगहरू सर्ने माध्यम बनेको पाइन्छ । यी र यस्तै कारणहरुले गर्दा विभिन्न किसिमका चाडहरु मनाउने वित्तिकै मानिसहरूको अस्पताल भर्ना हुने संख्या निकै बढेको पाइनछ ।

सर्वप्रथम व्यक्तिले आफ्नो स्वास्थ्यमा कोलेस्टेरोलको मात्रा कस्तो छ, त्यसबारे ध्यान पु(याउन जरुरी छ । कोलेस्टेरोलको मात्रा नियन्त्रणमा छ भने केही बढी खान सकिन्छ तर यसको मात्रा बढेको छ भने मासुजन्य परिकारमा आफूलाई नियन्त्रित गर्न सक्नुपर्छ । जसले आफ्नो कोलेस्टेरोल परीक्षण गरेकै छैन, उसले आफ्नो कोलेस्टेरोल उच्च भएको अनुमान गरी सोही अनुसार खानाको योजना बनाउनुपर्छ । मासु खाँदा स्याचुरेटेड फ्याटलाई कसरी घटाउने रु त्यसतर्फ पनि ध्यान दिन जरुरी हुन्छ ।

एक, यसमा फ्याट र प्रोटिन बढी हुने कारणले क्यालोरी पनि बढी हुन्छ । क्यालोरी बढी भएकै कारण मोटोपन बढ्ने हो । दुई, फ्याटकै कारण कोलेस्टेरोल बढ्ने समस्या पनि उत्तिकै रहन्छ । युरिक एसिडको समस्या हुनेका लागि मासुमा पाइने प्रोटिन पनि समस्या हुन सक्छ । मिर्गौलासम्बन्धी रोगीले पनि बढी प्रोटिन हुने परिकार खान मिल्दैन । यीबाहेक सामान्य मानिसका लागि भने उच्च प्रोटिनयुक्त खाना राम्रो कुरा हो । क्यालोरी अनुसारको शारीरिक परिश्रम गर्ने व्यक्तिले मासु सहजै पचाउन सक्छन् । तर, मासुका कारण शरिरमा जाने स्याचुरेटेड फ्याटले खराब कोलेस्टेरोल बढाउँछ ।

हाम्रो खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ हुन्छन् । सँगसँगै भिटामिन, लवण र फाइबर पनि जोडिन आ“उछन् । मासुमा कार्बोहाइड्रेट कम हुन्छ, तर प्रोटिन बढी हुन्छ । स्याचुरेटेड फ्याटले खराब कोलेस्टेरोल बनाउँछ भने अनस्याचुरेटेडले राम्रो कोलेस्टेरोल बनाउँछ । खसी र माछाको मासु तुलना गरौँ । माछामा अनस्याचुरेटेड फ्याट बढी र स्याचुरेटेड फ्याट एकदमै कम हुन्छ । खसीमा भने ठीक उल्टो हुन्छ । खसीले ब्याड र माछाले गुड कोलेस्टेरोल बढाउँछ । त्यसैले हामी खराब कोलेस्टेरोल बढाउने खानाप्रति निकै सचेत हुनुपर्छ । माछा र खसीमै तुलना गर्दा स्वास्थ्यका लागि माछा उपयुक्त देखिन्छ । तर, स्वादका लागि सबैले खसी नै छान्ने गर्छन् । यसमा हाम्रो खाद्य बानीले पनि भूमिका खेलेको हुन्छ ।

कोलेस्टेरोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासुको प्रयोग कम र ज्यादा होसियारीपूर्वक गर्नुपर्छ । खसी वा अरू रातो मासुभन्दा कुखुराको मासु राम्रो हो । धेरैमा यसले कोलेस्टेरोल बढाउँदैन भन्ने भ्रम छ । तर, यथार्थमा जुनसुकै जनावरजन्य उत्पादनले कोलेस्टेरोल बढाउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement