जव टीकाको अघिल्लो दिन पाइलट पढ्न गएको छोराको शव आयो…

जव टीकाको अघिल्लो दिन पाइलट पढ्न गएको छोराको शव आयो…

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ-तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए। एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट बन्दै थिए।

छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैं पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ। विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैंका लागि अस्ताए।

यता नेपालमा रहेको पन्थ परिवार दसैंका लागि जमराको चाँजोपाँजो गर्दै थिए। त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैले चलाएको कार दुर्घटनामा परी सधैंका लागि अस्ताए। साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको जनाइएको छ।

कानूनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैंको नवौं दिन शुक्रबार राति दमौली ल्याइएको छ। राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ। दसैंका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ। बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन्। आफन्त ईश्वरराज पन्थले भने, ‘ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला१ अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ।’

छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताए।‘आशाका मुनामा तुषारापात भएको छ। परिवारको सपना सपनामै रहेको छ। आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ। बाबु विराटको आत्माले शान्ति पाओस्,’ उनले भने।