काठमाण्डु – विवादास्पद व्यवयासी दीपक भट्टले सेयर खरिद गर्दा सेयर दलाललाई अनिवार्य तिनुपर्ने २५ प्रतिशत रकम नदिई उधारोमा कारोबार गर्ने गरेको खुलासा भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा गठित अनुसन्धान समितिले गरेको अनुसन्धानका क्रममा धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीले भट्टलाई २५ प्रतिशत अग्रिम भुक्तानीबिनै सेयर बिक्री गरेको खुलेको हो । नबिल डिबेन्चर (एलबीएलडी–०८५), एनआईएमबी डिबेन्चर २०९० (एनआईएमबीडी–९०), नेपाल एसबीआई बैंक डिबेन्चर–२०८३ (एसबीआइडी–८३), एसबीएलडी डिबेन्चर–२०८९ (एसबीएलडी–८९) र नेपाल रिइन्स्योरेन्स कम्पनी (एनआरआइसी) खरिद गर्न रकम भुक्तानी गरेको देखिँदैन ।
धितोपत्र कारोकार सञ्चालन नियमावली–२०७५ को विनियम ८ बमोजिम अग्रिम कर (कम्तिमा २५ प्रतिशत) रकम अग्रिम बुझाउनुपर्ने व्यवस्था छ । तर, भट्टले सेयर खरिद गर्ने क्रममा उक्त व्यवस्थाको उल्लंघन गरेको अनुसन्धान प्रतिवेदनले औंल्याएको छ ।
धितोपत्र दलाल व्यवसायी दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीले कारोबार भएको दिनबाहेक दुई कार्यदिनभित्र खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्री कर्तालाई दिनुपर्नेमा सो गरेको पाइएन । नियमावली र विनियमावलीको व्यवस्था मिचेर भट्ट र धिपोपत्र कारोबार गर्ने दलाल कम्पनी मिलेर एनआरआईसीको सेयर मूल्य बढाउने नियत राखेको देखिएको प्रतिवेदनमा छ ।
भट्टले भृकुटी स्टक ब्रोकिङमार्फत ५ साउन ०८२ देखि १ चैत २०८२ सम्म विभिन्न मितिमा ३ अर्ब ८० करोड, ५३ लाखभन्दा बढीको सेयर खरिद तथा ९३ करोड ५ लाख ९२ हजार बढीको सेयर बिक्री गरेको अनुसन्धानबाट देखिन्छ । उक्त अवधिमा धितोपत्र दलाले भट्टबाट कुनै पनि रकम लिएको देखिँदैन ।
भट्टले सेयर खरिद बापतको २ अर्ब ८९ करोड, २० लाख ४८ हजारभन्दा बढी रकम धिपोपत्र दलालाई तिर्न बाँकी छ । तर, रकम तिरेको नेदेखिँदासमेत सेयर दलालले उक्त रकम राफसाफ भएको देखाएका छन् ।
रकम लेनदेन नगरी सेयर कारोबार गरेका भट्ट र धितोपत्र कम्पनीको साँठगाँठमा नेपाल रिइस्न्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाएको पाइएको छ । ५ साउन ०८२ मा दिउँसो १२ बजेर ५६ मिनेटमा प्रतिकित्ता १४६१ रुपैयाँ रहेको उक्त कम्पनीको मूल्य दिउसो ३ बजेर ५९ मिनेट जाँदा बढाएर १६८६ रुपैयाँ १० पैसा पु¥याइएको खुलासा भएको छ ।
भट्ट र धितोपत्र कम्पनीको मिलेमतोमा लगानीकर्ता तथा समग्र धितोपत्रको दोश्रो बजार प्रणालीलाई झुक्याई सेयर बढाएर धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा १ र ९८ बमोजिम कसुर गरेको ठहरिने प्रतिवेदनमा छ ।
उक्त कार्यमा मुख्य रुपमा भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीको संलग्नता देखिएको भए पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमाल सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिएको छ ।
यस्तै शुभश्री अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर र राजबहादुर शाहसमेत अस्वाभाविक रुपमा नेपाल रिइन्स्योरेन्स कम्पनी (एनआरआइसी) को सेयर मूल्य बढाउने चलखेलमा संलग्न भएको खुलेको छ ।
सर्वसाधारणले लगानी गरेको (पब्लिक) कम्पनीको रकम अवैध रुपमा अपचलन गरी व्यक्तिका नाममा सेयर किनेर भट्ट र उनका साझेदार व्यक्ति तथा कम्पनीले गम्भीर आर्थिक अपराध गरेको पाइएको छ ।
समितिले भट्टसहित नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, सन्दीप चाचान, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई कारबाही सिफारिस गरेको छ । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका भट्ट हाल थुनामा छन् ।




प्रतिक्रिया