एन्फा अध्यक्षमाथि मुक्का प्रहार गर्ने दिपक मनाङेविरुद्ध उजुरी दर्ता


काठमाडौं – गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दिपक मनाङे) विरुद्ध कास्की जिल्ला फुटबल संघ(एन्फा)का अध्यक्ष मिलन गुरुङले उजुरी दर्ता गराएका छन् । मंगलबार मनाङेबाट तीन झापट खाएका उनले कुटपिट तथा दुव्र्यवहार भएको भन्दै कास्की प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार केसीले उजुरी परेको पुष्टी गरे । लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सदस्य गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि तीन मुक्का प्रहार गरेका थिए ।

पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको र मनाङेले सोही विषयलाई लिएर सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हान्दा आफूले मंगलबार भने संयमता अपनाएको दावी गरे । ‘मैले संयमता अपनाएँ । प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरेँ,’ उनले भने ।

उनले गण्डकी प्रदेशको इज्जत जोगाउन आफु संयम बनेको जिकिर गरे । ‘मंगलबार दिउँसो १ बजे फुटबलको ओपनिङ थियो । कार्यक्रम केही ढिलो भएको थियो । उहाँ (राजीव) केही तनावमा हुनुहुन्थ्यो । मनाङबाट आएको टोलीलाई होटल,ग्राउण्ड नमिलाईदिने भन्दै कराउनुभयो । फुटबलमा डे आफ्टर/बिफोर हुन्छ । मैले त्यो बारे बुझाउन खोजे । तर पैसा नतिर्ने भन्दै कराए । मैले सहंदै गएँ । उहाँले मुक्का हान्नुभयो’,गुरुङले भने ।

उनले भने, ‘सार्वजनिक स्थानमा ममाथि किकबक्सिङ हानियो । मेरो ज्यानको सुरक्षा भएन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement