दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ


काठमाण्डु –  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् ।

भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई बिहीबार साँझ पक्राउ गरेको हो । कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो ।

मुख्यमन्त्री पक्राउ परेपछि दिल्लीकी शिक्षामन्त्री आतिशीले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने प्रतिक्रिया दिएकी छन् । साथै आम आदमी पार्टीको कानूनी टोलीले सर्वोच्च अदालतमा अपिल गर्दै तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ ।

यसअघि बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो ।

केजरीवालले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए । अदालतले केजरीवाल ईडी समक्ष हाजिर हुनुपर्ने बताउदै उनको गिरफ्तारीमा रोक लगाउन अस्वीकार गरेको थियो ।

यसअघि ईडीले मार्च १७ मा केजरीवाललाई ९औं समन पठाएको भएपनि उनी बयानका लागि उपस्थित हुन अस्वीकार गर्दै आएका थिए । मदिरा नीति मुद्दामा केजरीवाललाई २७ फेब्रुअरी, २६ फेब्रुअरी, २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी, ३ जनवरी र २०२३ मा २१ डिसेम्बर र २ नोभेम्बरमा समन पठाइएको थियो ।

दिल्ली राज्य सरकारको मदिरा नीतिमा दिल्लीका मुख्यमन्त्री र केहि मन्त्रीहरु अहिले जेलमा रहेका छन् ।

भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रो पटक हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो ।

दिल्लीमा यसअघि शिक्षामन्त्रीसमेत रहेका उपमुख्यमन्त्री मनीष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । दिल्लीमा कथित शराब मामिलामा करिब १०० करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement