काठमाण्डु – धादिङको छत्रेदेउरालीका रमेश (नाम परिवर्तन) को दिनचर्या हिजोआज आमाको स्याहारमा सीमित छ । उनी अहिले जागिर छाडेर आमाको स्याहारमा व्यस्त छन् ।
उनकी आमालाई ५० वर्षको उमेरदेखि डिमेन्सियाको लक्षण देखिन थालेकोमा अहिले गम्भीर अवस्था छ । सुरुमा सामान्य बिर्सिने बानीजस्तो लागेको समस्या बिस्तारै गम्भीर बन्दै गएको उनले बताए । औषधि खाँदा केही सुधार भएजस्तो देखिए पनि अहिले अवस्था झन् जटिल बनेको छ ।
रमेश बिहान उठ्नेबित्तिकै आमाको कोठाको ढोका खोल्छन् र औषधि खुवाएर दिनको सुरुआत गर्छन् । ‘पहिला घरको सबै जिम्मेवारी आमाले नै सम्हाल्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘तर अहिले उहाँलाई एक्लै छोड्न पनि डर लाग्छ ।’
रमेश सुनाउँछन्, ‘औषधि खुवाउँदा पनि आमाले औषधि खान मान्नुहुन्न । कहिलेकाहीँ पानीसँगै मुखमा राखिएको औषधि नै मेरो अनु्हारमा थुकिदिनुहुन्छ ।’
औषधि, खाना, पानी खुवाउन निकै गाह्रो हुने रमेशले बताए । कहिलेकाहीँ जबरजस्ती औषधि खुवाउँदा आमाले उनलाई नराम्रोसँग गाली गर्छिन् । तैपनि उपेन्द्र रिसाउँदैनन् । ‘आमा बुझ्नुहुन्न,’ उनी भन्छन्, ‘अहिले गाली गर्नुहुन्छ, बेलुकासम्म फेरि बिर्सिनुहुन्छ ।’
डिमेन्सिया गम्भीर बन्दै जाँदा हिजोआज आमाले छोरा रमेशलाई चिन्न नै छाडेकी छन् । ‘कहिलेकाहीँ चाहिँ ‘मेरो जेठो छोरा’ भनेर बोलाउनुहुन्छ, त्यतिबेला खुशी लाग्छ । तर त्यो खुशी धेरैबेर टिक्दैन । फेरि एकछिनमै मलाई चिन्नुहुन्न,’ उनले भने । २०७० सालमा रमेशका बुवाको निधन भएपछि आमामा मानसिक समस्या बढ्न थालेको थियो । ‘उहाँ सधैँ चिन्तित देखिनुहुन्थ्यो । मलाई बिहे गर भनेर बारम्बार भन्नुहुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘मैले पछि गरौंला भन्दै टारिरहेँ । कहिलेकाहीँ लाग्छ– कतै मेरो कारणले आमा झन् तनावमा त पर्नुभएन ?’
हाल उनको दिनचर्या पूर्णरूपमा आमाको हेरचाहमा केन्द्रित छ । उनी भन्छन्, ‘राति कोठामा बाहिरबाट चाबी लगाउनुपर्छ । नत्र आमा राति नै लुगा पोको पारेर घरबाट निस्किन खोज्नुहुन्छ ।’
डिमेन्सियाका सुरुवाती लक्षणमा बारम्बार कुरा बिर्सिनु, एउटै प्रश्न दोहोर्याउनु, बाटो वा सामान राखेको ठाउँ बिर्सिनु, बोल्न गाह्रो हुनु तथा व्यवहारमा परिवर्तन आउनु हुन् । रोग बढ्दै जाँदा बिरामीले आफ्नो परिवार समेत चिन्न छोड्छ ।
डिमेन्सिया केवल बिर्सिने रोग मात्र होइन । गम्भीर हुँदै जाँदा बिस्तारै मानिसको स्मृति, पहिचान, आत्मनिर्भरता र अन्तत: परिवारसँगको सम्बन्धसम्म कमजोर बन्छ ।
नुवाकोट तादी बस्ने कृष्ण भण्डारी र उनकी श्रीमती लता अहिले डिमेन्सिया भएकी ८० वर्षीया आमा लक्ष्मीको स्याहारमा व्यस्त छन् । २०७२ सालको भूकम्पपछि कृष्णको आमालाई बिस्तारै बिर्सिने समस्या सुरु भएको थियो । ‘सुरुमा मैले बिर्सिए भनेर आफैँ स्वीकार गर्ने सासुआमा अहिले भने आफू कहाँ छु भन्ने समेत थाहा पाउनुहुन्न,’ बुहारी लता भन्छिन्, ‘पहिला बिहानै उठेर नुहाउने, पूजा गर्ने, आफैँ खाना पकाउने गर्नुहुन्थ्यो । तर अहिले दिसापिसाब थाहा नपाउने, घरका सामान अरूलाई बाँड्ने, फोहोर टिप्ने, जथाभावी हिँड्ने गर्नुहुन्छ ।’
उनका छोरा कृष्ण २४ घण्टा आमामाथि निगरानी राख्न बाध्य छन् । ‘एकछिन मात्रै आँखा हटायो भने कतै हिँडेर जानुहुन्छ, पछि खोज्न निस्किनुपर्छ । म आफैं दमको बिरामी हुँ । बिस्तारै हिँड्दै खोज्न जाँदा आमालाई भेटेर फर्काएर घरसम्म ल्याउँदा रातको १२ बजिसक्छ,’ कृष्ण भन्छन्, ‘एकपटक आमा घरबाट निस्केर धेरै टाढासम्म पुग्नुभयो । नजिकै हुनुहोला भनेर म बत्ती नै नलिई खोज्न निस्किएको थिएँ । भेटेपछि फर्काउन खोजें तर मान्नुभएन । बोकेर ल्याउन खोज्दा ढुंगाले टाउकोमा हान्नुभयो । त्यसपछि गुहारगुहार भन्दै कराउन थाल्नुभयो । आमालाई घर फर्काउन लाग्दा बाटोमा भेटिएका २ युवकले उल्टै वृद्ध आमामाथि दुर्व्यवहार गरेको ठानेर झण्डै कुटेनन् । धन्न गाउँका मानिसहरूले अवस्था बुझाइदिनुभयो ।’
परिवारले उपचारका लागि पाटन अस्पतालसम्म पुर्याएका थिए । तर चिकित्सकहरूले उमेरसँगै हुने बिर्सिने समस्या भन्दै औषधि दिएर घर पठाएको उनी बताउँछन् । ‘औषधिले खासै काम गरेन,’ उनी भन्छन्, ‘बरु आमा झन् आवेगमा आउन थाल्नुभयो । दिनभरि सुत्ने, रातभरि जागा बस्ने गर्नुभयो । उहाँ नसुत्दा हामी पनि सुत्न पाउँदैनथ्यौं । घरमा म, श्रीमती र आमा मात्र । आमा हेर्न २ जना नै चाहिन्छ । २ जनामा एउटालाई केही भयो भने ठूलो आपत पर्छ ।’
बुहारी लता भन्छिन्, ‘आमाले भर्खरै खाएको कुरा पनि बिर्सिनुहुन्छ । कहिलेकाहीँ त हामीलाई नचिनेर चोर आयो भनेर कराउने, डराउने अनि सामान लुकाउने गर्नुहुन्छ । उमेर बढ्यो अब यस्तै हो भनेर चित्त बुझाउनेबाहेक अरु केही छैन ।’
डिमेन्सियाले बिरामी मात्र होइन, हेरचाह गर्ने परिवारलाई पनि मानसिक र शारीरिक रूपमा थकित बनाउने गरेको उनको अनुभव छ ।
डिमेन्सिया एउटा मानसिक तथा स्नायु सम्बन्धी समस्या हो, जसले मस्तिष्कलाई बिस्तारै कमजोर बनाउँदै लैजान्छ । यसले स्मरणशक्ति, सोच्ने क्षमता, भाषा, निर्णय क्षमता र व्यवहारमा असर पार्छ । समयसँगै बिरामीको अवस्था जटिल बन्दै जान्छ र पछि दैनिक जीवन नै अरूको सहारामा निर्भर हुन पुग्छ ।
महिलाहरूमा हुने हर्मोनल गडबडी र मानसिक चिन्ताका कारण पुरुषको तुलनामा महिलालाई बढी डिमेन्सिया हुने बीएनबी मेडिकल इन्स्टिच्युटका असिस्टेन्ट प्रोफेसर मनोचिकित्सक रेनुका अधिकारी बताउँछिन् । ‘डिमेन्सिया हुने मुख्य कारण भनेको मस्तिष्कमा रक्तसञ्चार कम हुनु, टाउकोमा चोट लाग्नु, पार्किन्सन, भिटामिन बी १२ कमी, अत्याधिक पीर चिन्ता, डिप्रेसनमा जानु, औषधिको दुरुपयोग हुनु, अस्वस्थ खानपान हो,’ उनले भनिन्, ‘यदि थाइराइड सम्बन्धी समस्या, ट्युमर वा क्यान्सर आदिको समस्या छ भने पनि डिमेन्सियाको जोखिम हुन्छ ।’
उनका अनुसार डिमेन्सिया प्राय: ६५ वर्षमाथिका व्यक्तिहरूमा उमेर बढ्दै जाँदा देखिन्छ । सामान्यतया कतिपयलाई ४०–६५ वर्ष उमेर समूहमा पनि प्रारम्भिक डिमेन्सिया देखिन सक्छ ।
नेपालका कतिपय परिवारलाई डिमेन्सियाबारे अझै थाहा छैन । घरमा डिमेन्सियाका बिरामी भए पनि समयमै उपचार र परामर्श नपाउँदा बिरामी र हेरचाह गर्ने सदस्य मानसिक तनावमा बाँचिरहेका छन् ।
‘डिमेन्सियाका लक्षण देखिएपछि बिरामीको हेरचाहका लागि परिवार आफैँ अग्रसर हुनुपर्छ, परिवारका सदस्यले रोगको प्रारम्भिक पहिचान र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ,’ उनले भनिन्, ‘घरको वातावरण सुरक्षित र शान्त बनाउने, पौष्टिक आहार खुवाउने, नियमित व्यायाम तथा मानसिक सक्रियता तथा सामाजिक तथा भावनात्मक सहयोगको पनि आवश्यकता पर्दछ । परिवारले बिरामीप्रति गरेको माया स्नेह अनि भावनात्मक सहयोग, धैर्य र सम्मानपूर्वक व्यवहारले बिरामीलाई राहत हुने कुरामा दुइमत छैन ।’
हाल डिमेन्सियाको पूर्ण उपचार सम्भव नभए पनि स्वस्थ जीवनशैली अपनाएर जोखिम घटाउन सकिने रेनुका अधिकारी बताउँछिन् । उनका अनुसार नेपाल लगायत विश्वभर डिमेन्सिया अहिले ठूलो सार्वजनिक स्वास्थ्य चुनौती बन्दै गएको छ । ‘यसको नियन्त्रणका लागि उमेर बढ्दै जाँदा स्वस्थ जीवनशैली, मानसिक सक्रियता, सामाजिक सम्बन्ध तथा नियमित स्वास्थ्य परीक्षणले मस्तिष्कलाई लामो समयसम्म स्वस्थ राख्नुपर्छ,’ उनले भनिन् ।




प्रतिक्रिया