डेंगु नियन्त्रणका लागि समुदाय परिचालन


विराटनगर – विराटनगर महानगरपालिकाले डेंगु नियन्त्रणका लागि समुदाय परिचालन अभियान सुरु गरेको छ । डेंगुका विषयमा जनचेतना फैल्याउन महानगरपालिकाले शिक्षक र विद्यार्थीलाई परिचालन गर्ने भएको हो ।

सुनसरीको धरानमा डेंगुको महामारी फैलिएको र विराटनगरा पनि मंगलबार पहिलोपटक डेंगुका बिरामी भेटिएपछि महानगरले सचेतना र निरोधका लागि अभियान सुरु गरेको हो । महानगरपालिकाले शुक्रबार महानगरपालिकाका सबै विद्यालयका शिक्षकलाई बोलाएर विद्यार्थीलाई कक्षा कोठामा डेंगुबारे सचेत गर्न र आफ्नो टोल समुदायमा डेंगु फैलिन नदिने उपायका बारेमा जानकारी दिन आग्रह गरेको छ ।

विद्यार्थीलाई विद्यालयमै डेंगु रोग र यसको लक्षण बारेमा जानकारी दिने, त्यसबाट बच्ने उपायबारे सूचित गर्ने र नियन्त्रणका लागि गर्नुपर्ने सामाजिक क्रियाकलापमा सचेत गराएर अभियानलाई निरन्तरता दिइने महानगरका प्रमुख भीम पराजुलीले बताए । रोगबारे सचेत गराउन सुरक्षाको उपाय उल्लेख गरिएको सन्देश मोबाइलमा पठाउने तयारी भइरहेको उनले बताए । महानगरपालिकाले सबै नगरबासीलाई आफ्नो घरमा पानी जम्ने थोत्रा पुराना सामान परीक्षण गर्न र त्यसलाई बिसर्जन गर्न आग्रह गरेको छ ।

त्यसबाहेक महानगरपालिकाले सबै वडाका टोल तथा सडकमा लामखुट्टे नियन्त्रण गर्न विषादी छरिरहेको छ । दैनिक चारवटा वडामा अभियानको रूपमा विषादी छर्ने काम भइरहेको महानगरले जनाएको छ ।  स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिले धरानमा डेंगु नियन्त्रणमा नआएको भन्दै सचेतना कार्यक्रम प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।महानगरमा अहिलेसम्म ९ जनामा रोगको संक्रमण देखिएको र धरानमा प्रकोप सुरु हुनु अघि प्रदेश १ मा १९ जनामा डेंगु भेटिएको महाशाखाले जनाएको छ ।

धरानमा मात्र ५ सय ३४ जनामा संक्रमण भेटिएको भए पनि त्यसको अन्तिम नतिजा भने आइसकेको छैन । परीक्षणका क्रममा थप बिरामीमा पनि संक्रमण देखिने क्रम जारी रहेकाले डेंगु उत्पादन हुनसक्ने सम्भाव्य ठाउँको खोजी गर्ने र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाइने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement