देउवा र मोदीबिच ग्लास्गोमा भेटवार्ता हुँदै, देउवालाई सम्बन्ध सुधारको अवसर


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुने भएको छ । स्कटल्यान्डको ग्लास्गोमा उनिहरुबीच भेटवार्ता हुने भएको हो । मोदीसंगको भेट यसअघिनै तय भएको बुझिएको छ ।

यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो । सम्मेलन उद्घाटनका क्रममा सोमबार दुबै नेताबीच अनौपचारिक भेटवार्ता भए पनि द्धिपक्षीय भेटवार्ता भने मंगलबार हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चौथो पटक प्रधानमन्त्री भएपछि देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा भएको मोदीसँगको भेट नै पछिल्लो हो ।

पाँचौं पटक प्रधानमन्त्री भएका देउवालाई एक महिनापछि गत साउन ३ मा संसद्बाट विश्वासको मत लिएपछि मात्र मोदीले फोन गरेर बधाई दिएका थिए । नेपालका प्रायः प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमण भारतको गर्दै आएका छन् । देउवा पाँचौंपल्ट प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण स्कटल्यान्डको हो ।

यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विग्रीएको सम्बन्ध देउवाले सुधार्न सक्लान त भन्ने सबैको चासो रहेको छ । ओली सरकारले ‘चुच्चे नक्सा’ जारी गरेसंगै भारत नेपालसंग चिडिएको छ । देउवा र मोदीको भेटपछि चिसीएको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट फेरि सभापति बन्ने दाउमा रहेका देउवा भने मोदीसँग सम्बन्ध बढाउन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement