कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता, देउवाले पाउनेछन् यस्ता सेवासुविधा


काठमाण्डु- नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ। संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको हो ।
कांग्रेसले विपक्षी दलको मान्यतासहित सेवासुविधा उपलब्ध गराउन संसद् सचिवालयमा पत्र पठाएको थियो।

त्यसपछि संसद् सचिवालयले पत्र लेख्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सेवासुविधा पाउने जानकारी दिएको हो ।

जसअनुसार विपक्षी दलका नेताले प्रतिमहिना पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ पाउनेछन् । त्यस्तै विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, आवास सुविधा प्रति महिना २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन् ।

त्यस्तै फर्निचर खर्च एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, सवारी इन्धन प्रतिमहिना २३० लिटरलगायतको सुविधा पनि पाउने व्यवस्था छ। त्यस्तै विपक्षी दलका नेतालाई स्वकीय सचिव, सवारी चालक र सुरक्षालगायतका सेवा पनि उपलब्ध हुन्छ।

संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने आँकलन गरिएको थियो । तर, पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि कांग्रस अब प्रतिपक्षी दल हो या होइन भन्ने प्रश्न खडासमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement