कांग्रेस-एमाले मिलेर नयाँ सरकार बन्न लागेकाे हाे ?


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने रणनीति गरेको सरकार ढाल्न आशंका गरेका छन् । अध्यक्ष नेपालले ओलीले दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको भन्दै कटाक्ष पनि गरे।

‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईंहरुले सुनिरहनुभएको छ। कस्तो बिडम्वना होला ? कस्तो चरित्र होला ? अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्। समाजवादी शक्तिलाई एकतावद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ।’, शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माधव नेपालले भनेका थिए ।

यसैबीच नेपाली काग्रेसका महामन्त्री गगन थापाले पनि हालको गठबन्धन फुटेर नयाँ सरकार बन्नसक्ने बताएका छन् । काठमाण्डु ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धन सरकारले चित्त बुझ्ने गरी काम नगरे नयाँ सकार बन्नसक्ने बताएका हुन् ।

‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छभइराख्छ,’ उनले भने ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरेका छन् । समाजवादी मोर्चामा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागि भएका छन् । प्रचण्डले समाजवादी मोर्चा घोषणा गरेपछि सत्ता गठबन्धनको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले भने आशंका ब्यक्त गरिरहेको छ ।

यता अध्यक्ष ओली पनि नेपाली कांग्रेससँग नजिक थालेको चर्चा चलिरहेको छ । अध्यक्ष ओली जसरी पनि हालको गठबन्धन फुटाउन चाहन्छन् । त्यसकारण पछिल्लो समय नेपाली कांग्रेस र एमाले मिल्न लागेको चर्चा चलेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement