राष्ट्रपति निर्वाचन: एमाले-माओवादीको मत बाझियो, गठबन्धन फुटाउने मिसनमा कांग्रेस


काठमाण्डु- नेपाली कांग्रेसले राष्ट्रपतिको चुनावमा आफ्नो उम्मेदवार विजयी हुने दावी गरेको छ । संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दियो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसले राष्ट्रपतिको चुनावलाई हेरेर विश्वासको मत दिएको खुसालासमेत गरेको थियो । यसैबीच नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले राष्ट्रपतिको चुनावमा आफ्नो पार्टीबाट बनेको उम्मेदवार विजयी हुने दावी गरे ।

बिहीबार प्रतिनिधि सभा सभामुखकाे निर्वाचनपछि उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । “राष्ट्रपतिको चुनावमा हाम्रो ध्यान केन्द्रित छ । यसका लागि हामी तयारीमा लागेका छौँ । राष्ट्रपतिको निर्वाचनमा हाम्रो उम्मेदवार निर्वाचत हुनेछ ।”, उनले भने । जनताले सरकार र शितलनिवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई पहिलो दल बनाएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सत्ता गठबन्धन टुटाउन कांग्रेस लाग्नु स्वभाविक भएको बताएका छन्। साेही बैठकपछि भण्डारीले सभामुखमा गठबन्धन टुटाउने प्रयास सफल नभएपछि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताए।

नेपाली कांग्रेसका नेताहरूले आफूहरुले विश्वासको मत दिएकाले राष्ट्रपतिको चुनावमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने बताउँदै आएका छन् । यसबारे नेपाली कांग्रेसका नेताहरु प्रचण्डसँग पछिल्लो समय छलफलमा जुटेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले यसबारे मुख खोलेका छैनन् ।

यता सत्ता गठबनधनका दुई ठुला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भने राष्ट्रपति निर्वाचनका बिषयमा मत बाझिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेले पाउनुपर्ने सहमति भएको बताएका छन्।

उनले सोहीबमोजिम एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने बताए। बिहीबारको संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेको उम्मेदवारलाई नै राष्ट्रिय सहमति बनाउनुपर्ने बताए। “राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । सत्ता साझेदार दलभित्रको सहमति त्यही हो । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ”, अध्यक्ष ओलीले भने ।

यस्तै प्रधानमन्त्री  प्रचण्डले भने राष्ट्रपतिमा समझदारीका लागि प्रयासरत रहेको बताएका छन्। संसद बैठकपछिसञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यसका लागि सत्ता साझेदार दलहरूसँग छलफल गरिरहेको बताए।

उनले राष्ट्रपतिको निर्वाचनका लागि समय रहेको भन्दै त्यसका लागि समझदारीको प्रयास भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement