तिहार सुरु नहुँदै देउसीभैलोको रौनक, मौलिकता हराउन थालेकोमा चिन्ता

तिहार सुरु नहुँदै देउसीभैलोको रौनक, मौलिकता हराउन थालेकोमा चिन्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यस वर्षको तिहार आज शनिबारदेखि सुरु भएको छ ।

आज कागतिहार मनाइएको छ । भोलि आईतबार कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदैछ।

सामान्यतया लक्ष्मीपूजा गरेपछि देउसी भैलो खेल्न सुरु गर्ने चलन छ । तर बागलुङ बजारमा भने तिहार सुरु नहुँदै देउसीभैलो खेल्न सुरु भएको छ । हिजो शुक्रबारदेखि नै यहाँ देउसीभैलोको रौनक सुरु भएको हो । बजारका चोक चोकमा ठूला साउण्ड सिस्टम बजार नाच्नेको समूह ठूलै छ । बालबालिकादेखि बुढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन् ।

सँगै देउसीभैलोको मौलिकता हराउँदै गएको चिन्ता पनि छ । भैलो खेल्दा गाउने गीत र नाचिने नाचमा अचेल मौलिकता नपाइने बूढापाका बताउँछन् । मादल, बासुरी, खैजडी लगायतका बाजा र मौलिक गीत हराउन थालेका छन् । सोरठी, मारुनी र कौरा नाच पनि देखाउने गरेको पाइँदैन । यानीमाया, सुनियामा र झ्याउरे गीत पनि सुनिँदैन । पछिल्लो १० वर्षमा तिहारको मौलिकता पूर्ण रुपमा हराएको संस्कृतिकर्मी काजीगाउँले श्रेष्ठले बताए । पश्चिमा संस्कृतिको प्रभावले देउसी भैलोको मौलिकता हराउँदै गएको उनको भनाइ छ । मादल, बाँसुरी, खैँजडी लगायतका बाजाको माध्यमबाट कथा व्यथा प्रस्तुत हुने देउसी भैलोमा हिजोआज विकृति मिसिएको श्रेष्ठले बताए । नयाँ पुस्ताले मौलिक संस्कृतिको संरक्षणमा चासो नदिँदा आज यो अवस्था आएको उनी बताउँछन् ।

जैमिनी नगरपालिका–३ का टेकबहादुर केसी ‘संगम’ले आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको बताए । तिहार पर्व र देउसी भैलोले नेपालीहरुको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान नै गुम्ने खतरा बढेको उनी बताउँछन् । मौलिक कला, संस्कृतिको संरक्षण तर्फ युवा पुस्ताको चासो नहुँदा पश्चिमा संस्कृति हाबी भएको भन्दै केसीले दु:ख व्यक्त गरे ।

देउसीभैलो खेल्ने केही टोलीले भने मौलिकतालाई जोड दिएका छन् । पाका पुस्ताबाट सिकेर देउसीमार्फत संरक्षणको अभियान नै थालेका छन् । मगर भैली टोलीले अघिल्लो वर्षदेखिनै मौलिक भैलो खेल्दै आएको स्थानीय गमबहादुर पुन मगरले बताए । (नेपाल फोटो लाइब्रेरी)