सरकारले विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा सभामुखसामु विपक्षी दलको आपत्ति

सरकारले विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा सभामुखसामु विपक्षी दलको आपत्ति


काठमाण्डु – संघीय संसद्मा रहेका विपक्षी दलहरूले संसद्मा पुगेका विधेयक फिर्ता नै नलिई सरकारले अध्यादेश ल्याएकोमा आपत्ति जनाएका छन् ।

आईतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सुझाव दिएका छन् ।

संसद्को अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई विपक्षी दलले सुझाव दिएका छन् ।

छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई रेस्पोन्स नगरेको र संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएकोबारे सभामुख घिमिरेसँग छलफल भएको जानकारी दिए ।

विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोबारे सभामुखले पनि सरकारसँग कुरा गर्नुपर्ने सुझाव दिएको उनले बताए । बैठकमा सभामुख घिमिरेले विचाराधीन विधेयकबारे पनि जिज्ञासा राखेका थिए । पाण्डेले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरू अघि बढ्न नसकेको आरोप लगाएका छन् ।