देउवाविरुद्ध सिंह र सिटौला आक्रामकः सशक्त जवाफ दिने देउवाको तयारी


काठमाडौ‌- चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए। प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे। नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ।

पूर्वमहामन्त्री सिंहले बैठकमा ‘सुझाब एवं प्रस्ताव’ भन्दै आठ पृष्ठ लामो लिखित प्रस्ताव बाँडे। ३५ मिनेट लामो धारणा राखेपछि उनले प्रस्ताव केन्द्रीय सदस्यहरूलाई बाँडेका खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।

केन्द्र र प्रदेशमा सरकार बनाउने गणित कतै नभएको, महाअभियोग र अविश्वासको प्रस्ताव राख्न सक्ने वैधानिक हैसियतसमेत पार्टीको नभएकोलगायतका विवरण प्रस्तुत गर्दै उनले जनताले दिएको निर्मम दण्डबारे गहिरो आत्मसमीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन्।

माओवादीसँग आलोपालो सरकार र भरतपुर महानगरपालिकामा माओवादीसँग तालमेलले सभापति सत्तास्वार्थमा फसेको पुष्टि भएको सिंहको आरोप छ । उनले नाकाबन्दी खेपेको केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रचण्डजस्तो धोखेबाज नेतासँग मिलेर उनैलाई प्रधानमन्त्री बनाउनाले पार्टी अहिलेको हविगतमा पुगेको बताए।

पार्टी नेतृत्वले विधान लत्याएको र भागबन्डाको संस्थागत विकास गरेको आरोप लगाउँदै अब विधानअनुसारका पदाधिकारी थप्ने औचित्य सकिएकोले छिटो महाधिवेशनमा जानुपर्ने सिंहले सुझाएका छन्।

एकले अर्कोलाई हेर्दै

तीन नेता बोलेपछि भीष्मराज आङदेम्बे र नवीन्द्रराज जोशीलाई समय दिइएको थियो । तर, उनीहरू दुवै बैठकमा थिएनन्। पहिलो दिनको बैठक यत्तिकैमा सकियो। खासगरी संस्थापन पक्ष अर्को पक्षले पहिले बोलोस् र अर्को पक्ष संस्थापन पक्षले बोलेपछि जवाफ दिने ‘मुड’मा देखिन्छ। यसकारण पनि तीनजनाबाहेक अरु सदस्य बोल्न अग्रसर नभएको केन्द्रीय सदस्य गुरु घिमिरेले बताए । ‘तीन नेता बोलेपछि डाकिएका आङदेम्बे र जोशी देखिनुभएन । अरू नेता पनि बोल्न अग्रसर भएनन्,’ घिमिरेले भने, ‘चुनावी समीक्षा भएकोले पहिले कसरी प्रस्तुत हुने भन्नेमा दुवै पक्षले एकले अर्कोलाई हेरेको देखियो।’

पौडेल र सिटौला पक्ष मिलेर संस्थापनविरुद्ध आक्रामक बन्ने रणनीतिमा छ । तर, संस्थापन पक्ष पार्टी्भित्र अर्को पक्षका अनुशासन, निर्वाचनका वेला देखाएको निष्क्रियतालाई निर्वाचन परिणामसँग दाँज्ने तयारीमा छ ।

पौडेल र सिटौला पक्षको एउटै लिखित प्रस्ताव आउने

पौडेल पक्षका नवीन्द्रराज जोशी र सिटौला पक्षका युवा नेताहरूको संयुक्त प्रस्ताव ल्याउँदै छन् । निर्वाचनमा पार्टी पराजय हुनुका कारण तथा अब के गर्ने भन्ने दुई खण्ड समेटेर दुई पक्षले संयुक्त लिखित प्रस्ताव ल्याउने तयारी गरेका हुन् । एउटै प्रस्ताव तयार गर्नका लागि शुक्रबार बैठक सकेपछि दुवै पक्षका नेताहरू अबेरसम्मै छलफलमा जुटेका थिए।

पहिलो खण्डमा सरकारमा गएर प्रभावकारी काम गर्न नसकेको, सरकारका विशेषाधिकारयुक्त निर्णयलाई पुष्टि गर्न नसकेको विषय उल्लेख छन् । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउनु र फिर्ता लिनु, आइजिपी प्रकरण तथा राजदूत नियुक्तिमा पार्टी र सरकारले उचित जवाफ दिन नसक्दा निर्वाचनमा खराब नतिजा आएको विषय पनि समेटिएको छ।

निर्वाचनमा लोकतान्त्रिक गठबन्धन नाम मात्रैको भएको, पार्टीका आन्तरिक संरचनाले काम नगरेको, भ्रातृ संस्थाहरू चुनावमा परिचालन नभएको, टिकट वितरण न्यायपूर्ण नभएको, नारा, घोषणापत्र घोषणामै सीमित भएको विषयलाई उनीहरूले हारका कारणका रूपमा प्रस्तुत गरेका छन्।

अब के गर्ने?

पौडेल र सिटौला पक्षले अब के गर्ने भन्ने निकाससहितको प्रस्ताव पनि गर्दै छन् । दुई कम्युनिस्ट एक हुँदा कांग्रेस चुनौतीले घेरिएको भन्दै उनीहरूले पार्टी ‘रेस्क्यु’ गर्नुपर्ने ठाउँमा रहेको विषय उठाउँदै छन् । ‘संसद्मा हामी खुम्चिएका छौँ प्रतिस्पर्धी कम्युनिस्ट पार्टी छ । उनीहरू धेरै बलिया छन्, अब कस्तो रणनीति ल्याउने? उनीहरूको ५० र हामी ३५ प्रतिशत जति छौँ,’ घिमिरेले भने, ‘जनतासँगको सम्बन्ध पातलो भयो । कमजोर भयो । यसकारण हामी ०१५ पछिका निर्वाचनमा बहुमत ल्याएर पनि लगत्तैको निर्वाचनमा पछि किन पर्‍यौँ? यो जनतासँग पातलिएको सम्बन्धनले नै हो भन्ने हाम्रो मान्यता छ।’

जनताले अवसर दिँदा केही गर्न नसकेको जस्ता विषयबाट अब उठ्ने गरी महासमितिबाट युवा नेताहरूको एउटै पार्टीलाई जागरूक, क्रियाशील बनाउन, विधान संशोधन गर्नुपर्ने, संसद्मा खुम्चिए पनि वाम दलसँग वैचारिक र सैद्धान्तिक रूपमा सामना गर्ने गरी पार्टीका कार्यक्रम ल्याउनुपर्ने माग गर्दै छन् । आज भीष्मराज आङदेम्बे, नवीन्द्रराज, चित्रलेखा, सुरेन्द्र पाण्डे, मीन विश्वकर्मा, गगन थापा, धनराज गुरुङ, रामकृष्ण यादवसहितका नेताले बोल्ने तयारी गरेका छन् ।

पराजयको जिम्मा सभापतिले लिनुपर्छ

देउवाले खुलेर कुरा राख्न अनुमति दिएलगत्तै रामचन्द्र पौडेल पक्षका नेता प्रकाशमान सिंह बोल्न सुरु गरे । ‘पार्टीलाई हामीले जुन स्थानमा जिताउन सक्नुपर्ने हो, सकेनौँ। चुनावमा पार्टीको पराजयको भागिदार सभापति हुनुहुन्छ, यसको नैतिक जिम्मेवारी उहाँले लिनुपर्छ,’ ३५ मिनेट लामो भाषणमा सिंहले भने, ‘सुशीलजी ९सुशील कोइराला० प्रधानमन्त्रीको उम्मेदवार भएदेखि कांग्रेसको डाउनफल सुरु भयो।

पछि सभापति देउवाजी प्रधानमन्त्री बनेर गोवामा निर्वा्सित तिब्बती प्रधानमन्त्रीलाई भेट्नु, कोलम्बिया युनिभर्सिटीमा फितलो प्रस्तुति दिनु, साझा सवालमा लज्जास्पद प्रस्तुति दिनु, चितवनमा माओवादीसँग एलायन्स गर्नु र प्रचण्डकै नेतृत्वमा चुनावमा नजानुका कारण पार्टी कमजोर भयो।’

सानो पार्टी सभापतिको कब्जामा, देश वामको कब्जामाः सिटौला

सिंहपछि कृष्णप्रसाद सिटौला देउवाविरुद्ध उत्रिए । उनले सुशील कोइरालालाई दोस्रोपटक प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि पार्टीमा विचलन र स्खलन सुरु भएको तर्क गरे।

‘हामी चुनावसम्म आइपुग्दा झन् बिग्रियौँ । टिकट वितरणमा नातावाद, कृपावादले परिणाममा क्षति पुग्यो । समानुपातिकको लिस्ट बनाउँदा हामीलाई हेर्नै दिइएन । सभापतिले एकलौटी गर्नुभयो । रामचन्द्रजीले साथ दिनुभयो,’ देउवासँगै पौडलको पनि गल्ती कोट्याउँदै उनले अगाडि भने, ‘राप्रपाजस्तो दक्षिणपन्थी पार्टीलाई सरकारमा ल्यायौँ, यो अर्को गल्ती थियो । पार्टीलाई क्षति गरायो । लोकतान्त्रिक गठबन्धन अर्को गलत कदम थियो।

महन्थले हाम्रो सहयोगले जित्नुभयो, तर उहाँहरूकै कारण विमलेन्द्रजीले हार्नुभयो । हिजो नाकाबन्दी गर्नेहरू आज केपी ओलीजीका प्रिय भए । तर, हामीले नाकाबन्दीसमेत भन्ने आँट गरेनौँ । मैले व्यक्तिगत रूपमा नाकाबन्दी भनेँ, तर पार्टीले भन्न सकेन।’

उनले कार्यसम्पादन समिति र संसदीय बोर्ड विधानविपरीत गठन गरिएको भन्दै भंग गर्नुपर्ने माग गरे । यही तरिकाले नेतृत्व हिँडे पार्टी झन् सानो बन्ने उनको भनाइ थियो । ‘यही तरिकाले जानुभयो भने पार्टी झन् सानो–सानो बन्दै जान्छ र यही पार्टी तपाईं ९सभापति०ले कब्जा गर्नुहोला, तर देश वाम गठबन्धनले कब्जा गर्छ,’ सिटौलाले भने।

पटक–पटक सरकारमा बस्ने अवसर पाएर पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको उनले बताए । उनले पटक–पटक अर्थमन्त्री बनेर पनि किसान, मजदुर र खाडी मुलुकमा जानेहरूका लागि कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको भन्दै रामशरण महतको पनि आलोचना गरे।

‘किसानका लागि, मजदुरका लागि, खाडी मुलुकमा जानेहरूका लागि कार्यक्रम ल्याउन सकेनौँ, अनि हामीलाई किन जनताले भोट दिने रु जनताले किन पत्याउने?,’ सिटौलाले प्रश्न गरे । उनले विधानअनुसार पार्टी नहिँडे अराजकता मौलाउने बताए।

गुट अन्त्य गरौँः डा. खड्का
डा. नारायण खड्काले चरम गुटबन्दीकै कारण पार्टी समस्यामा फसेको बताए । गुटको गन्ध आउनै नदिए मात्र पार्टी बन्ने उनको धारणा छ । खड्काले लोकतान्त्रिक गठबन्धन मधेसकेन्द्रित चार नेतालाई जिताउनका लागि गरेजस्तो नतिजा आएको मूल्यांकन गरे।

‘लोकतान्त्रिक गठबन्धन चारजना मधेसकेन्द्रित दलका नेतालाई जिताउनका लागि गरेजस्तो भयो । तर, आफ्ना नेता जिताउन सकेनौँ,’ उनले भने, ‘त्यो प्रयास पार्टीको पक्षमा थिएन, त्यसैले हित गरेन ।’

चार मिनेट के बोले देउवाले?

सभापति शेरबहादुर देउवाले बैठकको औपचारिक सुरुवात गर्दै चार मिनेट मात्रै आफ्ना कुरा राखे । छोटोमा प्रस्ट धारणा राखे । ‘यो चुनावको समीक्षा बैठक हो। चुनावमा पार्टीले व्यहोर्नुपरेको जित–हारका कारण खुलस्त राख्नुस् । र, कहाँ के कमजोरी भयो, सुधार गर्न के–के गर्न सकिन्छ सुझाब दिनुस् । बुँदागत रूपमा लिखित र मौखिक सुझाब दिनुस् । यसले पार्टीलाई सुदृढ बनाउन सहज हुन्छ,’ देउवाले यति मात्रै बोले।

कस्तो प्रतिपक्षी बन्ला कांग्रेस

चरम आन्तरिक अन्तरविरोध भएको कांग्रेस वाम गठबन्धनसँग कसरी लड्ला? ‘हामी संसदीय बहुदलीय व्यवस्था मान्ने पार्टी हो । यो व्यवस्थामा सत्ता पक्षलाई काम गर्नका लागि सय दिन अर्थात् हनिमुनको अवधि दिने भनिन्थ्यो, तर ओलीजीको सरकारले यस्तो ठाउँ नै दिएन। सय दिनसम्म विरोध नगरी काम गर्ने ठाउँ दिऊँ भन्ने पनि ओली सरकारले दिएन । सुरुदेखि नै हस्तक्षेप गरेको हुनाले हामी कडा प्रतिपक्षीको भूमिका खेल्छौँ,’ २१ फागुनमा संसदीय दलको नेतामा निर्वा्चित भएलगत्तै सभापति शेरबहादुर देउवाले भनेका थिए।

स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टी कमजोर बनेपछि सभापति शेरबहादुर देउवाविरुद्ध पार्टी्भित्रै चर्को आवाज उठ्न थालेको थियो । यहीबीच देउवाले सशक्त प्रतिपक्ष बन्ने सन्देश दिदै आन्तरिक असन्तुष्टीलाई विषयान्तर गर्ने प्रयास गरे।

कांग्रेस ०४६ यताको अधिकांश समय सत्तामा रहँदै आएको छ । सुशील कोइरालाबाहेक कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र देउवा पटक–पटक प्रधानमन्त्री भए । तर, यसपटक वाम गठबन्धनको सरकार बनेपछि कांग्रेस पाँच वर्ष सत्ताबाहिर बस्नुपर्नेछ । कांग्रेससँग प्रधानमन्त्रीविरुद्ध एक्लै अविश्वासको प्रस्ताव ल्याउन सक्ने मतसमेत छैन । यस्तोे अवस्थामा देउवाले भनेजस्तै कांग्रेसले सशक्त प्रतिपक्षीको भुमिका खेल्ने सक्ला कि नसक्ला आगामी दिनमा संसदमा उसको प्रस्तुतीले देखाउने छ।

यीनले संसद्मा प्रभाव पार्न सक्छन्
संख्यात्मक उपस्थिति सानो भए पनि प्रभाव पार्न सक्ने विषयमा बोल्न सक्ने केही नेता भने संसद्मा पुगेका छन् । गगन थापा, डा. मिनेन्द्र रिजाल, डा.नारायण खड्का, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, पुष्पा भुसाल, डिला संग्रौला प्रभावशाली सांसद हुन्।

प्रभावशाली, तर वाककला नभएका सांसद
सभापति देउवा र महामन्त्री डा. शशांक कोइराला दुवै संसदमा छन्। तर, संसद्मा तयारीसाथ बोल्ने र आफ्ना कुरा अरुलाई बुझाउन सक्ने सामथ्र्य यी दुवै नेतामा खासै देखिँदैन। अघिल्लो संसद्मा शीर्ष नेताको हैसियतमा मात्रै बोले देउवाले । शशांक त बोल्दै बोलेनन् । अर्का प्रभावशाली नेता प्रकाशमान सिंह संसद्मा पुगेका छन् । तर, उनको भाषण पनि खासै प्रभावशाली हुँदैन । पार्टीका प्रभावशाली नेता भएर पनि वाककलामा तीनै नेता कमजोर छन्। लगातार तीनपटक सांसद भइसकेका नेता शशांक कोइराला २७ फागुनमा भने संसद्मा बोले । तर, उनी केवल एक मिनेट मात्रै रोष्टममा टिके ।

अविश्वासको प्रस्ताव ल्याउन असमर्थ
२७५ सदस्यीय संघीय संसद्मा सरकारको पक्षमा दुईतिहाइ मत हुँदा कांग्रेससँग ६३ मत मात्र छ । दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने कानुनी प्रावधान छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पनि २५ प्रतिशत मत चाहिन्छ । तर, कांग्रेससँग २३ प्रतिशत मात्रै छ । यसर्थ योपटक कांग्रेस संसद्मा एक्लै अश्विासको प्रस्ताव ल्याउनसमेत सक्दैन।

‘सुरुमै चुक्दै छ कांग्रेस’
केही दिनअघि सांसद गगन थापाले सशक्त प्रतिपक्षीका रूपमा प्रस्तुत हुने जनाउ दिँदै सत्तारूढका प्रत्येक कदममाथि निगरानी बढाउने भाषण संसद्मा दिएका थिए। तर, सांसदले शपथ नै नलिई केपी ओली प्रधानमन्त्री भएको, राष्ट्रपतिले राजीनामा नै नदिई दोस्रोपटक उम्मेदवारी दिएको, उम्मेदवारी दिएपछि सभामुखलाई शपथ गराएकोलगायतका जल्दाबल्दा विषय संसद्मा उठाउन नसकेको पूर्वसांसद रामहरि खतिवडाले बताए।

एउटै पार्टीको सभामुख र उपसभामुख हुन नहुने कानुनी प्रवाधान भए पनि एउटै पार्टी बनाउन सार्वजनिक प्रतिबद्धता जनाएका एमाले र माओवादीले मिलेर सभामुख–उपसभामुख बाँड्दा कांग्रेसले खबरदारी गर्न नसकेको, प्रशासनिक सुधार आयोगले सुरुमा १५ वटा मन्त्रालय प्र्रस्ताव गरे पनि ओली सरकारले १८ हुँदै २१ वटा बनाउँदासमेत कांग्रेसले प्रभावकारी आवाज उठाउन नसकेको उनले बताए।

संख्यामा कमजोर रहेको कांग्रेसमा आन्तरिक अन्तरविरोध चुलिँदै जाँदा सशक्त प्रतिपक्ष बन्न सक्नेमा उत्तिकै आशंका छ । ‘पार्टी आफैँमा सीमित भूमिकामा खुम्चिएको छ । यस्तो वेला अन्तरविरोध झन् बढ्दा भूमिका प्रभावकारी निभाउन सकिँदैन,’ युवा नेता प्रदीप पौडेलले भने, ‘त्यसैले हामीले कुनै विशेष समूहको स्वार्थभन्दा समग्र पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउँदै सशक्त भएर जाऊँ भन्ने अभियान थालेका हौँ । हामीले अन्तरविरोध कम गर्न र पार्टीको शक्ति बढाउनकै लागि नेतृत्वलाई सुधार्न खोजेका हौँ।’

के गर्नुपर्छ कांग्रेसले?
कांग्रेस युवा नेता प्रदीप पौडेल संख्यामा कमजोर भए पनि उपस्थिति भएको ठाउँमा सशक्त भूमिका निभाउनुपर्ने बताउँछन् । ‘हाम्रो उपस्थिति कमजोर छ । तर, जहाँ उपस्थिति छ त्यहाँ बलियो ढंगले प्रस्तुत हुनुपर्छ,’ उनले नयाँ पत्रिकासित भने, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रभावकारी भूमिका खेल्न हाम्रा सांसदलाई प्रभावकारी बनाउनुपर्छ । चेतना, लगाब र विषयविज्ञ बनाउनुपर्छ । साथै, सरकारका गतिविधि नजिकबाट नियाल्ने गरेपछि हामी सशक्त बन्न सक्छौं।’

प्रतिक्रिया दिनुहोस
Advertisement