धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ ।
स्वस्थ शरीर र तेज दिमागका लागि पोषणयुक्त आहार अत्यन्त आवश्यक हुने भएकाले विद्यार्थीलाई गुणस्तरीय दिवा खाजा उपलब्ध गराउने उद्देश्यले भान्साघर सञ्चालनमा ल्याइएको हो ।
धनगढी उपमहानगरपालिका–७ का अध्यक्ष मोती राना थारूले शनिबार आयोजित समारोहमा भान्साघरको उद्घाटन गरेका हुन् ।
साउन १ गतेदेखि वडा नम्बर १–८ सम्मका २१ सामुदायिक विद्यालयका करिब ४ हजार विद्यार्थीले यहीँ भान्साघरमा तयार गरिएको पोषणयुक्त दिवा खाजा प्राप्त गर्नेछन् । बालविकासदेखि ५ कक्षासम्मका ३ हजार ७९५ विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन् भने सरस्वती आधारभूत विद्यालय, शान्तिनगरमा ८ कक्षासम्मका सबै विद्यार्थीलाई समेत खाजा उपलब्ध गराइनेछ ।
धनगढी–७ मा नवज्योति आधारभूत विद्यालय मिलानपश्चात् २/२ कोठाको २ वटा भवन तथा २ कठ्ठा जमिनमा थप पूर्वाधार निर्माण, मर्मत, भान्सा सामग्री, ढुवानी साधन तथा विद्युत जडानका लागि उपमहानगरपालिकाले करिब १ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । विश्व खाद्य कार्यक्रमबाट ८६ लाख रुपैयाँ सहयोग प्राप्त भई कुल २ करोड २३ लाख रुपैयाँको लागतमा एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको छ ।
काठमाण्डु उपत्यकापछि नेपालमै पहिलो एकीकृत भान्साघर धनगढीमा निर्माण भई सञ्चालनमा आउनु स्थानीय तहको महत्वपूर्ण उपलब्धि मानिएको छ । यस पहलले विद्यार्थीहरूको पोषण, स्वास्थ्य र सिकाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनक भट्ट, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, स्थानीय व्यक्तिहरू तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । एकीकृत भान्साघरबाट सबै विद्यालयमा दिवा खाजा उपलब्ध गराउने जिम्मा लिएको ‘फूड फर लाइफ’ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया