धनगढीमा मोबाइल चोरेर हिडेका दुई प्रहरी निलम्बित


धनगढी – कैलालीको धनगढीमा प्रहरीले नै मोबाइल चोरी गरेको फेला परेको छ । धनगढीमा सुवास रावलले सञ्चालन मोबाईल पसलमा लागूऔषध रहेको सूचनाका आधारमा छापा हान्न गएका प्रहरीले नै मोबाईल चोरेर हिँडेको भिडिओ सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।

मोबाइल ग्यालरीले नै प्रहरीले मोवाइल फोन चोर्दै गरेको भिडियो सार्वजनिक गरेको हो । ग्लोवल मोबाईल ग्यालरीमा छापा पार्न गएका प्रहरीले नै दुई वटा मोबाईल चोरेर हिँडेपछि छानबिन प्रक्रिया अघि बढेको छ ।

धनगढी प्रहरीकाअनुसार बुधबार साँझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔषधका बिषयमा छापा हान्न पुगेको थियो । तर प्रहरीले मोबाईल पसलको खानतलासी लिनेक्रममा लागुऔषध नभई मोबाईल लिएर हिँडेको सिसिटिभी फुटेजबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढा भने मोबाइल चोर्न सक्रिय भएको सिसिटिभी फुटेजमा देखिएको छ । उनीहरु दुबै जनालाई निलम्बन गरेर चोरी मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement