सेनाका पूर्वसहायक रथीद्वय बानियाँ र बस्न्यातलाई कारबाही


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको आलोचना गर्दा २ जना पूर्वसैनिक कारबाहीमा परेका छन् । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यात कारबाहीमा परेका हुन् ।

हालै चर्चामा रहेको सेना परिचालन सम्बन्धी विषयमा उनीहरुले सैनिक मर्यादाको ख्याल नगरेरै टिप्पणी गरेका थिए ।

सेना परिचालन विधेयकको विषयलाई लिएर सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा उनीहरुलाई पत्राचार गरेर सचेत गराइएको जंगी अड्डा स्रोतको भनाइ छ ।

बानियाँले एक अन्तरवार्तामा ‘एउटा मुसालाई शेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’ भनेका थिए ।

यता बस्न्यातले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पक्षमा पनि खुलेरै बोले । उनले के विप्लवजीको पार्टीले नेपाल खान लाग्या छ र ? भन्दै प्रश्न समेत गरेका थिए ।

उनले खल्तीबाट सेना परिचालन गर्ने केपी ओली को हुन् समेत भनेका थिए ।

अवकाशपछि पनि पूर्वअधिकारीलाई विभिन्न सेवा सुविधा दिइने भएकाले उनीहरु हत्तपत्त संगठनविरुद्ध बोल्दैनन् । तर, बस्न्यात र बानियाँले यसको उलंघन गरेको सेनाको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement