काठमाण्डु– नवगठित नेपाल पार्टीका अध्यक्ष धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र पुनस्र्थापनाको नाममा भोट मात्र बटुल्ने काम गरेको आरोप लगाएका छन् ।
पार्टी घोषणाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले राजतन्त्र र हिन्दु राष्ट्रको नाममा राप्रपाले राजनीति मात्र गरिरहेको बताए ।
राप्रपाले राजसंस्था स्थापना गर्न नसक्ने निस्कर्षसहित आफूहरुले नयाँ दल खोलेको उनको भनाइ थियो ।
‘३७ वर्षसम्म राप्रपाले राजाको नाममा भोट मात्र बटुल्ने काम ग¥यो’, उनले भने, ‘राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा प्रभावकारी रुपमा अघि बढाउन सकेन ।’
नेतृत्वको व्यक्तिगत स्वार्थका लागि एजेण्डालाई तिलाञ्जली दिएको आरोप उनको थियो । राणाले २१ फागुनको निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको उल्लेख गरे ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्यो । जबजब जनताले ठाउँमा पुर्याए’, उनले भने, ‘आफ्नो एजेण्डालाई अगाडि सारेन । नेताहरूको व्यक्तिगत स्वार्थमा एजेण्डाको तिलाञ्जली दिए ।’
नेपाली जनताले राजासहितको प्रजातन्त्रलाई नकारेको नभई राप्रपाको क्रियाकलापलाई नकारेको टिप्पणी गरे ।
हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा चुनावमार्फत समाप्त भएको भन्ने जनमत बनाउन खोजिएकाले आफूहरुले नयाँ दल स्थापना गरेको उल्लेख गरे ।




प्रतिक्रिया