३३ किलो सुन प्रकरणमा मुछिएका डिआईजी लोहनीसहित सबै प्रहरीले पाए सफाई


काठमाण्डु – ३३ किलो सुन प्रकरणमा मुछिएका सबै प्रहरीले सफाई पाएका छन् । डीआईजी दीवेश लोहनीसहितका प्रहरी अधिकारीहरुले सफाई पाएका हुन् ।

मंगलबार जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई सफाई दिएको हो ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

प्रहरी संगठनमा अब्बल, दिग्गज र अनुसन्धानमा प्रभावकारी काम गर्ने डीआईजी लोहनी ३३ किलो सुनकाण्डले विवादमा तानिए । जसले उनलाई बढुवामा धक्का लागेको सुरक्षा अधिकारीहरु बताउँछन् । ३३ किलो सुनकाण्डको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी नै छानबिनमा तानिँदा तत्कालिन एसएसपी लोहनीको नै करिअरमा धक्का लागेको बताइन्छ ।

२०७४ माघ ९ गते दुबईबाट काठमाण्डु ल्याइएको ३३ किलो सुन गायब भएको थियो । उक्त सुन अझै फेला पर्न सकेको छैन् । यस्तै उक्त मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै जेल सजाय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement