नेपाल प्रहरीमा चार जना डिआइजी थप्ने तयारी, गृहमन्त्रालय दरबन्दी थप्न सकारात्मक


काठमाडौं– नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले नेपाल प्रहरीको दरबन्दी कटौती गर्ने निर्णय गरेको एक महिना नपुग्दै प्रहरीमा थप ४ जना डिआइजीको दरबन्दी थप्ने गृहकार्य सुरु भएको हो । नेपाल प्रहरीमा रहेको २६ जना डिआइजीको दरबन्दी कटौती गरेर १४ मा झार्ने निर्णय गत महिना भएको थियो ।

प्रहरी मुख्यालयले डिआइजीको दरबन्दी बढाउने प्रस्ताव गृहमन्त्रालयमा पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको विचमा प्रहरीमा दरबन्दी बढाउने सहमती भएपछि मुख्यालयले प्रस्ताव अघि बढाएको हो । प्रहरीमा उच्च अधिकारीको दरबन्दी कटौती गर्ने निर्णयको आलोचना भएको थियो ।

यसअघि प्रहरीमा हचुवाको भरमा उच्च अधिकारीको दरबन्दी थप्ने र घटाउने काम भएको भन्दै त्यसको आलोचना हुंदै आएको थियो । निकट अधिकारीलाई बढुवा गर्न राजनीतिक नेतृत्वले दरबन्दी बढाउने निर्णय गर्दै आएका थिए ।

प्रहरीले कार्यविभाग, अपराध अनुसन्धान विभाग, मानव बेचबिखन र साइबर ब्युरोमा डिआइजीको दरबन्दीको आवश्यक रहेको दावी गर्दै आएको छ । प्रहरीको प्रस्तावमा गृहमन्त्रालय समेत सकरात्मक रहेको स्रोतको दावी छ । मन्त्रालयले प्रदेश प्रहरी समायोजनको काम समेत अगाडी बढाइरहेको छ । दरबन्दी थप्ने काम र समायोजन एकै पटक टुंगो लगाउने तयारी भएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा प्रदेशमा प्रहरी समायोजनको विषयमा ओएन्डएम सर्वेक्षण खाका बनाइएको छ । खाकाले पूर्णता पाउने वित्तिकै समायोजनको काम अघि बढ्नेछ । आचार्यले गृहमन्त्री रामबहादुर थापालाई त्यसको बिफ्रींग समेत गरिसकेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले प्रहरी समायोजनका लागि ओएन्डएम सर्वेक्षण भइरहेको भन्दै चांडै प्रदेशमा प्रहरीको समायोजनको काम अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement