पूर्वडीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्दामा डेढ वर्षपछि सुनुवाई हुँदै


काठमाण्डु – सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाविरुद्धको मुद्दामा सुनुवाई हुँदैछ । श्रीमति गीता ढकालको हत्या गरेर शव जलाएका डीआईजी कोइरालाविरुद्धको मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र सुनुवाइका लागि आज पेसीमा चढेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

१५ असार २०७७ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको कैद सजाय घटाएको थियो ।

जबकि कोइराला भने डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए । तर, प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसी रहेको संयुक्त इजालसले साढे आठ वर्ष मात्र कैद बसे पुग्ने भन्ने फैसला गरेको थियो ।

जन्मकैद सजाय तोकिँदा नाबालक छोराहरूको हेरचाह, संरक्षण एवं शिक्षादीक्षाका कार्यहरूमा अनिश्चितता र अन्योल हुने तथा सजाय चर्को पर्न जाने चित्तमा परेकाले घटाउनुपरेको फैसलामा भनिएको थियो ।

फैसला पीडकको पक्षमा आएको भन्दै न्यायिक वृत्तबाटै चर्को आलोचना भयो । त्यसपछि महान्यायाधिवक्ताको कार्यालयले १४ साउन २०७७ मा आदेशप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकन निवेदन सर्वोच्चमा दिएको थियो । अब, मुद्दा सुरुवाती चरणदेखि नै अघि बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement