डिला संग्रौलाको आग्रह : सरकारका अलोकतान्त्रिक गतिविधिविरुद्ध सडक र सदनबाट प्रतिवाद थालौँ

डिला संग्रौलाको आग्रह : सरकारका अलोकतान्त्रिक गतिविधिविरुद्ध सडक र सदनबाट प्रतिवाद थालौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधि लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनविपरीत देखिएको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न आग्रह गरेकी छन्।

बुधबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, प्रहरी अनुसन्धानमा अवरोध र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाएकी हुन्।

‘लोकतान्त्रिक मुलुकमा पत्रिकाको कार्यालयमै गएर धरपकड गर्ने, स्वतन्त्र प्रहरीको अनुसन्धान प्रक्रियामा ठाडो बाधा पुर्‍याउने र प्रधानमन्त्रीका सल्लाहकार स्वयम्ले प्रमाण वा मोबाइल फोन लगेर राख्ने जस्ता अराजक र गैरकानुनी कार्यहरू नेपाली कांग्रेसलाई कदापि स्वीकार्य हुन सक्दैन,’ संग्रौलाले बैठकमा भनिन्।

उनले प्रधानमन्त्री शाह नेतृत्वको सरकारले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको चुच्चे नक्सा तथा द्विपक्षीय हितसँग सम्बन्धित ईपीजी प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने राष्ट्रिय अडान परित्याग गरेको आरोप लगाइन्।

‘राष्ट्रियता जस्तो संवेदनशील विषयमा देखिएको यो विचलनबारे प्रधानमन्त्रीमाथि संसद् र सडक दुवै मोर्चाबाट कडा प्रश्न गरिनुपर्छ,’ उनको भनाइ छ। सरकारका जनविरोधी र अलोकतान्त्रिक कामको सशक्त भण्डाफोर गर्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।

‘हामी नै आधिकारिक कांग्रेस हौँ’

महामन्त्री संग्रौलाले निर्वाचन आयोगले कांग्रेसको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक गरिसकेको भन्दै अब पार्टीले आन्तरिक विवाद र वैधानिकताको बहसभन्दा संगठन निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन्।

उनले ‘हामी नै आधिकारिक कांग्रेस हौँ, अब अदालत वा मुद्दामामिलाको झमेलामा अल्झनु जरुरी छैन’ भन्ने सन्देश देशभरका ६ हजार ७ सय ४३ वटै वडा र बुथ तहसम्म पुर्‍याउनुपर्ने प्रस्ताव गरेकी छन्।

‘हामी तयार छौँ’ अभियानलाई औपचारिक सभा र नारामा सीमित नराखी टोल, वडा र बुथ तहको संगठनात्मक कामसँग जोड्नुपर्ने उनको भनाइ छ। युवाको ऊर्जा, अग्रजको अनुभव र आम नागरिकको विश्वासलाई समेटेर संगठनलाई गतिशील बनाउनुपर्ने उनले बताएकी छन्।

‘चुच्चे नक्सा र ईपीजी प्रतिवेदनमा सरकारको अडान कमजोर देखियो, प्रधानमन्त्रीलाई कडा प्रश्न गरौँ’

यसका लागि बुथ समिति अद्यावधिक गर्ने, क्रियाशील सदस्यताको नवीकरण तथा वितरण पारदर्शी बनाउने र ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई व्यवहारमा उतार्नुपर्ने उनको प्रस्ताव छ।

सुकुम्बासी भोट बैंक होइनन्

संग्रौलाले भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणलाई कांग्रेसले प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।

विपद्पछिको पुनर्निर्माण भत्किएका भौतिक संरचना निर्माणमा मात्र सीमित हुन नहुने भन्दै उनले प्रभावित परिवारको गुमेको जनजीविका, मनोबल र सुरक्षित भविष्य फर्काउने गरी काम गर्नुपर्ने धारणा राखेकी छन्।

‘प्रभावित परिवारको तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन जीविकोपार्जनको ग्यारेन्टीका लागि राज्यलाई बाध्य पारौँ,’ उनले भनेकी छन्।

त्यस्तै, विस्थापित तथा भूमिहीन सुकुम्बासीको समस्यालाई प्रशासनिक झन्झट वा भोट बैंकका रूपमा नभई मानवीय मर्यादा र सामाजिक न्यायको विषयका रूपमा हेर्नुपर्ने उनको भनाइ छ।

सुरक्षित स्थानमा पुनर्वास गर्दा रोजगारी, शिक्षा र स्वास्थ्यको पहुँच सुनिश्चित गर्नुपर्ने तथा कुनै पनि योजना अघि बढाउनुअघि स्थानीय समुदायको चाहना र अपनत्वलाई प्राथमिकता दिनुपर्ने उनले बताएकी छन्।

विद्रोही उम्मेदवारलाई कारबाही गरौँ

आगामी स्थानीय निर्वाचनको तयारी अहिलेदेखि नै सुरू गर्नुपर्नेमा जोड दिँदै संग्रौलाले लोकप्रिय, स्वच्छ छवि भएका र जनतामाझ विश्वसनीय उम्मेदवार छनोटको आधार बनाउनुपर्ने बताएकी छन्।

पार्टीको आधिकारिक निर्णयविरुद्ध विद्रोही उम्मेदवारी दिने वा उम्मेदवारलाई असहयोग गर्नेहरूलाई तत्काल कडा कारबाही गर्नुपर्ने उनको प्रस्ताव छ। ‘अनुशासनहीनतालाई अब कुनै पनि बहानामा छुट दिन सकिँदैन,’ उनले भनेकी छन्।

उनले विगतमा कांग्रेसबाट निर्वाचित मेयर तथा स्थानीय जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका क्षेत्रमा गरेका राम्रा कामको तथ्यांकसहित प्रचार गर्नुपर्ने पनि बताएकी छन्।

आगामी पाँच वर्षका लागि प्रदेश र स्थानीय तहमा कांग्रेसको स्पष्ट नीति, भिजन र कार्ययोजनासहित जनताको घरदैलोमा जानुपर्ने उनको धारणा छ।

संग्रौलाले अमेरिका–इरान युद्धका कारण विश्वभर अस्थिरता र महँगी बढेको तथा सरकारले नागरिकका मौलिक अधिकार संकुचित गर्न खोजेको आरोपसमेत लगाएकी छन्।

देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी र संसद्को प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले आफ्नो पार्टीको मात्र नभई समग्र मुलुकलाई मार्गदर्शन गर्नुपर्ने उनले बताइन्।

निर्वाचन आयोगको अद्यावधिक निर्णयसँगै पार्टी नयाँ ऊर्जा र वैधानिक बलका साथ अघि बढ्नुपर्ने भन्दै उनले आन्तरिक एकता सुदृढ गरेर जनजीविकाका मुद्दा उठाउन र सरकारका गलत कदमको प्रतिवाद गर्न पार्टी पंक्तिलाई आह्वान गरेकी छन्।