काठमाण्डु– सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ ।
सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने नीतिअनुसार सरकारले नीतिगत तथा संस्थागत पहल अघि बढाएको हो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको बताइन् ।
चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजित १ अर्ब ८० करोड ६३ लाखबाट सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया थालिएको उनले जानकारी दिइन् ।
त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन सरकारले सहयोग गर्ने व्यवस्था अघि बढाइएको छ ।
स्थानीय तहको सहयोगमा कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको योगदान सरकारले जम्मा गरिदिने व्यवस्था गरिएको मन्त्री बादीले जानकारी दिइन् ।


प्रतिक्रिया