१४ वर्षमा बिहे, २४ वर्षमा छोडपत्र


जाजरकोट – नलगाड नगरपालिका–६ सिर्केकी विष्णु सिंह स्थानीय एक विद्यालयमा ९ कक्षामा पढ्दै थिइन्। त्यहीबेला नलगाड–८ का सुनिल सिंहसँग भेट भयो। चिनजान हुँदै जाँदा मायापिरती नै झाँगियो।

केही समयको अन्तरालमै दुवैले सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै लगनगाँठो कसे। यो १० वर्षअघिको कुरा हो, जतिबेला विष्णु १४ वर्षकी किशोरी थिइन्। १४ वर्षकै उमेरमा आमाबुवाकोे मन्जुरीबिनै प्रेमविवाह गरेका उनीहरूको दाम्पत्यजीवन केही वर्ष राम्रैसँग अघि बढ्यो।

दुई छोरा पनि भए। तर एक दशकभन्दा बढी टिक्न सकेन उनीहरूको सम्बन्ध र प्रेम। सुनिलसँग सम्बन्धविच्छेद गरेर विष्णु अहिले माइतीमै बस्दै आएकी छन्। दुई छोराको लालनपालनको जिम्मा पनि आफैँले लिएकी छन्। ‘केही वर्ष हाम्रो सम्बन्ध राम्रै चलेको थियो तर बिस्तारै दिनहुँ रक्सीले मातेर आएर कुटपिट गर्न थाल्यो’, उनले भनिन्, ‘सम्झाउन धेरै कोसिस गरें तर अर्कीे केटीसँग लहसिएको र बानी नसुधारेकाले मैले डिभोर्स दिने निर्णय गरेकी हुँ।’

केही थाहा नपाउने उमेरमा बिहे गरेकोमा यतिबेला पछुताएकी छन् उनी। ‘बिहेसँगै पढाइ पनि छुट्यो। न हातमा सिप छ। न जवानी नै अब के गरुँरु ’, उनले पीडा पोखिन्, ‘सानैमा बिहे गरेर ठूलो गल्ती गरेंछु।’ क्षतिपूर्ति र सम्पत्ति केही नमागेर सुनिलबाट जसरी भए पनि मुक्ति पाउन खोज्दा अझै दुःख पाएको उनको अनुभव छ।

‘छोराहरूले पनि आमा (म) सँगै बस्ने भनेपछि उनीहरूको लालनपालनको जिम्मेवारी पनि मेरै काँधमा छ। आयस्रोत छैन। छोरा कसरी पढाउनेरु कहिलेसम्म माइतीको भर पर्नेरु ’, उनको दुखेसो छ। जिल्ला अदालत जाजरकोटमा यस वर्ष उनीजस्तै सम्बन्धविच्छेदका लागि १ सय ८ जनाले मुद्दा दर्ता गरेका छन्। ८३ महिला र २५ पुरुषले सम्बन्धविच्छेदका मुद्दा गर्दा गरेको जिल्ला अदालतको मुद्दा फाँटका नासु सर्पराज खत्रीले बताए। तीमध्ये ५८ को फैसला भैसकेको उनले जानकारी दिए। अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने अधिकांश महिला र पुरुष २०–३० वर्ष उमेर समूहका छन्। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement