काठमाण्डु- विद्यालयमा विद्यार्थीका लागि सञ्चालित दिवा खाजा कार्यक्रममा केही स्थानीय तहहरुले अनियमितता गरेको पुष्टि भएको छ । कोरोनाभाईरस संक्रमणका कारण २०७६ चैत ११ बाट गरिएको ‘लकडाउन’ ले विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई दिवा खाजा कार्यक्रम अन्तर्गतको रकम निकासा गरेको पुष्टि भएको हो ।
शुक्रबार सार्वजनिक महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार धनुषाको सबैला नगरपालिकाले १ करोड १३ लाख, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, जनकनन्दिनी गाउँपालिका धनुषाले ५५ लाख ९६ हजार तेस्रो चौमासिक अवधिको रकम निकासा गरेको जनाइएको छ । त्यसैगरी यता सिरहाको सिरहा नगरपालिकाले १ करोड ३८ लाख, रौतहटको फतुवा विजयपुर नगरपालिकाले ९७ लाख, गरुडा नगरपालिकाले ७७ लाख सम्बन्धित विद्यालयमा पठाएका छन्।
यो सँगै देशका २८ वटा नगरपालिकाले लकडाउन अवधिलाई समेत जोडेर दिवा खाजामा १४ करोड २१ लाख ६८ हजार ५८२ विद्यालयहरुलाई निकासा गरेको जनाइएको छ । साथै देशभरका १३ वटा गाउँपालिकाले १६६ वटा विद्यालयलाई लकडाउन अवधिमा समेत दिवा खाजामा ६ करोड ३ लाख ५६ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार, सप्तरीको छिन्नमस्ता गाउँपालिकाले ५९ लाख ८६ हजार, सर्लाहीको कौडेना गाउँपालिकाले ५४ लाख ७२ हजार निकासा गरेको जनाइएको छ । दिवा खाजाको रकम विद्यालयलाई निकासा दिँदा अभिभावकलाई नगदै वितरण गर्ने व्यवस्था नभए पनि रौतहटस्थित परोहा नगरपालिकाले बितेको वर्षमा अभिभावकलाई नगद रकम बुझाउने गरी दिवा खाजा बापतको १ करोड १७ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । दिवा खाजा अनियमिततामा संलग्नमध्ये अन्य प्रदेशको तुलनामा प्रदेश २ कै स्थानीय तह धेरै छन् ।
प्रतिक्रिया