काठमाण्डु – नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको विषयमा सम्पूर्ण सरोकारवालाहरूसँग बृहत छलफल गरेको छ ।
बिहीबार काठमाण्डुमा विभिन्न अस्पतालका प्रमुखहरू, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, विभिन्न सोसाइटीहरू, चिकित्सक समाज र आवासीय चिकित्सक लगायत सम्पूर्ण सरोकारवालासँग छलफल गरेको हो ।
उपचार प्रक्रियामा भएको लापरबाहीका कारण बिरामीको ज्यान गएको तथा पीडित परिवारलाई थप मर्का परेको भन्दै परेका उजुरीमाथि अदालतले चिकित्सक तथा अस्पतालहरूलाई करोडौं क्षतिपूर्ति तिराउने फैसला गरेपछि चिकित्सकहरूले विरोध जनाएका छन् । यसै विषयमा चिकित्सक संघले छलफल चलाएको हो ।
उपभोक्ता अदालतका यी फैसलाले अस्पताल र चिकित्सकहरूलाई हतोत्साहित बनाएको नेपाल चिकित्सक संघको दाबी छ ।
नेपाल मेडिकल एशोसिएसनको महासचिव डा. सन्जिव तिवारीले स्वास्थ्य प्रक्रिया भनेको एउटा जटिल प्रक्रिया भएको भन्दै बिरामीहरूले अपरेसन गरेको ठाउँमा घाउको खत देखियो भनेको भरमा डाक्टरलाई क्षतिपूर्ति तिराउने कुरा सही नभएको भन्दै यसमा विमति भएको बताए ।
उनले भने, ‘नेपाल सरकारले प्रत्येक पेशाको लागि न्यायिक अंग खडा गरेको छ । पेशामा भएको विषय सम्बन्धित काउन्सिलले हेर्ने हो । छलेर ढुङ्गा मिसाएर चामल बेचेको जस्तो ठग्ने काम गरेको होइन । स्वास्थ्य प्रक्रिया भनेको एउटा जटिल प्रक्रिया हो । अपरेसन गरेको ठाउँमा घाउको खत देखियो भनेर डाक्टरले क्षतिपूर्ति दिनुपर्यो भन्न मिल्दैन ।’
नेपाल अर्थोपेडिक एशोसिएसनका वरिष्ठ उपाध्यक्ष प्राध्यापक डा.दिपक कुमार दत्तले नेपाल मेडिकल काउन्सिलको सल्लाह बिना उपभोक्ता अदालतले लिएको निर्णय गलत भएको बताए ।
उनले भने, ‘उपभोक्ता अदालतले नेपाल मेडिकल काउन्सिलको सल्लाह नलिइकन जुन निर्णय गरेको छ, जुन डाक्टरमाथि अन्याय भएको छ, त्यस विषयमा हामी छलफलमा जुटेका हौं । यस्ता विषयमा विज्ञ काउन्सिलले छानबिन गरेर मात्र गरोस् भन्ने हाम्रो माग हो ।’
प्रतिक्रिया