चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम : देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी


काठमाण्डु – नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानूनी दायरामा नल्याएमा देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

चिकित्सक संघले आज बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र प्रशान्त बिडारीमाथि भएको कुटपिटको निन्दा गरेको छ ।

संघले माग पूरा नभएमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ । बिरामीको उपचारमा लापरवाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट गरेको संघको आरोप छ ।

अस्पतालमा कार्यरत डा. थापा र बिडारीमाथि बुधबार बिहान कुटपिट भएको हो । कुटपिटमा संलग्न मृतककी पत्नी रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको छ ।

झण्डै १ महिनाअघि डेंगी भई सञ्चो अस्पतालमा आएका हेटौंडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको निधन भएपछि आफन्त आक्रोशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement