दुई दिने नेपाल भ्रमण सकेर फिर्ता भए अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु


काठमाण्डु – नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु स्वदेश फर्किएका छन् । भारतको राजधानी नयां दिल्लीबाट बिहिबार अपराह्न काठमाण्डु आएका लु नेपाल भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फर्किएका हुन् ।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले रद्द गर्ने निर्णय गरेपछी अमेरिकी उच्च अधिकारीहरुको एकपछी अर्को नेपाल भ्रमण भइरहेको छ । अमेरिका दूतावासले समेत रद्द गर्ने नेपाल सरकारको पत्र प्राप्त भएको जानकारी दिएको छ ।

अमेरिकी मन्त्री लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

त्यस बाहेक उनले दुई दिनको नेपाल बसाइमा अमेरिकी दूतावासको समन्वयमा आयोजित नेपाल–अमेरिका व्यापार सम्बन्ध र केही सीमान्तकृत समुदायका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवासंगको भेटमा उनको अमेरिका भ्रमणबारे समेत छलफल भएको थियो । देउवाले भेटमा उपयुक्त र अनुकुल समय मिलाएर अमेरिका भ्रमण गर्ने बताएका थिए । देउवालाई गत चैत २५ मा नै अमेरिका भ्रमणको निम्तो आएको थियो । तर, अमेरिकी राष्ट्रपति जो वाइडेनको समय नमिलेका कारण उनको अमेरिका भ्रमण हुन नसकेको जानकार स्रोत बताउंछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement