अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाण्डु आइपुगे


काठमाण्डु – दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाण्डु आइपुगेका छन् । परराष्ट्र स्रोतका अनुसार उनी चार्टर्ड विमानमा भारत हुँदै केहीबेर अघि काठमाण्डुमा ओर्लिएका हुन् ।

दुई दिने भ्रमणमा नेपाल आएका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेर फर्कने कार्यक्रम छ ।

काठमाण्डुस्थित अमेरिकी राजदूतावासका अनुसार यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपालको दुईदिने भ्रमणमा आएका हुन् । लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्नेछन् ।

‘उक्त कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्दछ,’ दूतावासले भनेको छ । यस्तै, सहायकमन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने दूतावासले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पाटी विदेश विभाग प्रमुखको नेपाल भम्रण लगत्तै लू नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । लु एमसीसी संसदबाट पारित गराउनुअघि नेपाल भम्रणमा आएका थिए । उनले शिर्ष नेताहरुलाई एमसीसी संसदबाट पारित गर्न दबाब समेत दिएका थिए । अहिले एसपीपीमा अमेरिकी सरकारलाई पत्राचार गर्ने तयारी भैरहेको बेला लुको नेपाल भम्रण भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement