काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत जारेड कुशनर इजरायल पुगेका छन्। उनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
कुशनरले गाजासम्बन्धी अमेरिकी समर्थन प्राप्त शान्ति योजनाको कार्यान्वयनबारे छलफल गर्न हमाससँग दुर्लभ वार्ता गरेको केही समयपछि इजरायल पुगेका हुन्।
गत महिना ट्रम्पको ‘बोर्ड अफ पिस’ले गाजामा हमास र अन्य सशस्त्र समूहको ‘पूर्ण निःशस्त्रीकरण’ गर्ने विषयमा सहमति भएको जनाएको थियो। तर, गत साता इजरायलले ट्रम्पको १५ बुँदे शान्ति योजना अस्वीकार गरेको थियो। उक्त योजनामा इजरायली सेना गाजाबाट फिर्ता हुने र नयाँ नागरिक प्यालेस्टिनी प्रशासनअन्तर्गत गाजाको पुनर्निर्माण गर्ने प्रस्ताव पनि समावेश छ।
आइतबार आठ मुस्लिम देशले इजरायलले उक्त योजना अस्वीकार गरेको भन्दै निन्दा गरेका थिए।
ट्रम्पको नेतृत्वमा रहेको ‘बोर्ड अफ पिस’ सुरुमा गाजामा शान्ति कायम गर्ने उद्देश्यले गठन गरिएको अन्तर्राष्ट्रिय संस्था थियो। पछि यसको कार्यक्षेत्र विश्वभरका अन्य द्वन्द्वसम्म विस्तार गरिएको छ।
एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार ट्रम्पका ज्वाइँसमेत रहेका कुशनरले आइतबार इजिप्टमा हमासका नयाँ नेता खलिल अल–हय्याको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका थिए।
गत वर्ष गाजा क्षेत्रमा युद्धविरामसम्बन्धी सम्झौता भएयता कुशनर र हय्याबीच भएको भेटलाई यस तहको पहिलो भेटवार्ताका रूपमा हेरिएको छ।
‘बोर्ड अफ पिस’का दूत निकोलाय म्लादेनोभ र बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर पनि उक्त बैठकमा सहभागी भएको बताइएको छ। बैठकमा इजिप्ट, कतार र टर्कीका प्रतिनिधिहरू पनि सहभागी थिए। यी तीनै देशले गाजामा शान्ति स्थापनाका लागि मध्यस्थता गर्दै आएका छन्।




प्रतिक्रिया